काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले सभापति रवि लामिछानेविरुद्धको मुद्दा राजनीतिक प्रतिशोधका आधारमा खडा गरिएको दाबी गरेकी छन् ।
कास्कीको रुपा गाउँपालिकामा आयोजित कार्यक्रममा बोल्दै उनले उक्त मुद्दामा कुनै कानुनी बल नरहेको बताइन् । “हामी नेतृत्वको गल्ती ढाकछोप गर्ने पुस्ता होइनौँ,” उनले भनिन्, “एक सचेत नागरिक र कानुनकी विद्यार्थीका रूपमा भन्न चाहन्छु, त्यो मुद्दा टालटुल गरेर बनाइएको हो।”
गौतमले न्यायालयले लामिछानेलाई न्याय दिने विश्वास व्यक्त गर्दै वर्तमान सरकारले रास्वपाले उठाएका विषयहरू दबाउने प्रयास गरिरहेको आरोप पनि लगाइन् । पोखरा विमानस्थल, वाइडबडी, गिरिबन्धु चिनी मिल, र भुटानी शरणार्थी प्रकरणमा पार्टीको भूमिका उल्लेख गर्दै उनले भ्रष्टाचारविरुद्धको अभियान जारी रहने बताइन् ।
उनको भनाइ अनुसार, सरकारले १० महिनामा निरन्तर विवाद र घोटालामै केन्द्रित भएर देशभर निराशा फैलाएको छ । “सरकारले काम गर्न सकिरहेको छैन, सच्चिनुपर्छ,“ गौतमको चेतावनी थियो ।