नयाँदिल्ली । भारतको अहमदाबादमा बिहीबार दिउँसो भएको विमान दुर्घटनामा २ सय ४१ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
दुई सय ४२ जना यात्रु बोकेर बेलायतको लागि उडेको एयर इन्डियाको बोइङ सेभेन एट सेभेन ड्रीमलाइनर विमान उडान भरेको केही समयमै आवासीय क्षेत्रमा दुर्घटना भएको थियो । दुर्घटनामा एक जना वेलायती नागरिकबाहेक अरू सबैको मृत्यु भएको एयर इन्डियाले पुष्टि गरेको छ ।
दुर्घटनामा बाँच्न सफल विश्वास कुमार रमेशको अस्पतालमा उपचार भइरहेको छ । विमानको सिट नम्बर इलाभेन ए मा बसेका भारतीय मूलका बेलायती नागरिक रमेश दुर्घटनामा ज्यान जोगाएका हुन् । उनलाई भारतका गृहमन्त्रीले अस्पतालमा भेटेर स्वास्थ्यलाभको कामना गरेका छन् ।
भारतीय सञ्चार माध्यमका अनुसार विमानमा १ सय ६९ भारतीय नागरिक, ५३ बेलायती, सात पोर्चुगलका नागरिक र एक क्यानेडियन नागरिक थिए । यसैबीच टाटा समूहले आफ्नो कम्पनी एयर इन्डियाको विमान दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई प्रतिव्यक्ति एक करोड रुपैयाँ राहत दिने घोषणा गरेको छ ।
अहमदावादमा भएको विमान दुर्घटनाप्रति भारतीय राष्ट्रपति, प्रधानमन्त्री,दलका नेतालगायत अधिकारीले दुःख व्यक्त गरेका छन् । नेपाल सरकारले पनि दुर्घटनाप्रति दुःख प्रकट गरेको छ । उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको अहमदाबाद बिहीबार भएको विमान दुर्घटनालाई ‘उड्डयन इतिहासको सबैभन्दा भयानक दुर्घटनाहरू मध्ये एक’ भएको टिप्पणी गरेका छन् ।