हमास १० जना जीवित इजरायली बन्धक र १८ मृतकको शव बुझाउन तयार भएको छ ।
अमेरिकको नयाँ युद्धविराम प्रस्तावमा हमासले सहमति जनाएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्वका लागि विशेष दूत स्टिभ विट्कोफले प्रस्तावित अमेरिकी मस्यौदामा आफ्नो प्रतिक्रिया पेश गरेको हमासले बताएको छ । तर त्यसका लागि केही प्यालेस्टिनी कैदीलाई रिहा गर्नुपर्ने हमासले सर्त राखेको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार हमासले अमेरिकाको नयाँ प्रस्तावमा केही संशोधनको माग पनि गरेको छ । समूहले स्थायी युद्धविराम, गाजाबाट इजरायली सैनिकको पूर्ण फिर्ती र मानवीय सहायताको निरन्तर प्रवाहको ग्यारेन्टीको लागि आफ्नो माग भने यथावत रहेको छ ।
इजरायलले आफ्ना बन्धकहरूको रिहाइका लागि अद्यावधिक गरिएको विट्कोफको खाका स्वीकार गरेपनि, हमास आफ्नो अडानमा अडिग रहेको जनाएको छ । प्रतिबन्धित आतङ्कवादी समूह हमासले स्थायी युद्धविराम र गाजाबाट इजरायली सेना फिर्ता हुनुपर्ने अडान राखेको पश्चिमा मुलुकले जनाएका छन् ।
गाजामा हालसम्म इजरायलको युद्धमा परि ५३ हजार ८ सय २२ प्यालेस्टिनीहरू मारिएका छन् भने एक लाख २२ हजार जना घाइते भएको समाचारमा उल्लेख छ ।