नयाँदिल्ली । रोयल च्यालेन्जर्स बेंगलुरु इन्डियन प्रिमियर लिग (आई.पी.एल.)को फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति पन्जाब किग्सलाई ८ विकेटले पराजित गर्दै बेंगलुरु नौ वर्षपछि फाइनल पुगेको हो । पराजित पन्जाबले अब दोस्रो क्वालिफायर खेल्नेछ । जितका लागि १०२ रनको झिनो लक्ष्य पछ्याएको बेंगलुरुले १० ओभरमात्रै उपयोग गर्दै २ विकेट गुमाएर १०६ रन बनायो ।
ओपनर फिल साल्टले अर्धशतक बनाएर अविजित रहे । विराट कोहलीले १२ बलमा १२ रन बनाए । यस्तै, मयंक अग्रवालले १९ रनको योगदान दिए । रजत पाटिदारले १५ रन जोडे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले १०१ रन मात्रै बनाएको थियो । पन्जाबका मार्कस स्टोइनिसले सर्वाधिक २६ रन बनाए । ओपनर प्रभसिमरन सिंह र अजमतुल्लाह उमरजाईले समान १८ रनको योगदान दिए । बेंलगुरुका जोस हेजलउड र सूर्यांश शर्माले समान ३ विकेट लिए । यश दयालले २ विकेट हात पारे ।
गुजरात टाइटन्स र मुम्बई इन्डियन्सबीच आज इलिमिनेटर हुँदै छ । त्यसको विजेताले पन्जाबको सामना गर्नेछ । त्यसको विजेता आइतबार हुने फाइनलमा बेंगलुरुसँग उपाधिका लागि भिड्नेछ ।