काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणबारे छानविन समिति बनाउनुपर्ने माग गरेका छन् । बुधबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले भिजिट भिसा प्रकरणबारे छानविन समिति बनाउनुपर्ने माग गरेका हुन् ।
भिजिट भिसा प्रकरणमा गृह मन्त्री रमेश लेखक संलग्न रहेको आरोप लगाउँदै प्रमुख प्रतिपक्ष दलसहितका विपक्षी राजनीतिक दलहरुले विरोध जनाउँदै गृह मन्त्री लेखकको राजीनामा माग गर्दै संसद अवरोध गरिरहेका छन् ।
सदनलाई अवरुद्ध गरिरहेको बेलामा गृह मन्त्री लेखकले एकैदिन अख्तियारमा कार्यरत प्रहरी अधिकारीको सरुवा गर्ने र फेरि तत्काल फिर्ता गर्ने काम गर्नुले थप शंका पैदा गरेको उल्लेख गरे । नागरिकहरु सुशासन खोजिरहेका बेला सरकारले झनै कुसंस्कारका काम गरिरहेको उनको आरोप छ ।
प्रमुख सचेतक पाण्डेले सरकारले विधेयकहरु छिटो टुंगो लगाउने गरी नलागेको आरोप लगाएका छन् ।