काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा राजसंस्था पुनर्स्थापनाका लागि गठित जनआन्दोलन समिति संयोजक पूर्वपञ्च नवराज सुवेदी नजरबन्द मुक्त भएका छन् । उनलाई गत चैत १५ गतेबाट सरकारद्वारा अघोषित नजरबन्दमा राखिएको थियो । हिजो रातिबाट सुबेदीको घर बाहिर तैनाथ प्रहरी आज बिहान हटेको हो, तर परिवारलाई औपचारिक जानकारी दिइएको छैन ।
समितिका प्रवक्ता स्वागत नेपालले २४ दिनपछि प्रहरीले सुबेदीको घरबाट हटेको जानकारी दिएका छन् । गत चैत १५ गते राजधानीको तीनकुनेमा राजावादीले गरेको प्रदर्शन उग्र बनेपछि सुबेदीलाई निगरानीमा राखिएको थियो ।
जिल्ला प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले भने प्रहरी सुरक्षा मात्रै प्रदान गरिएको दाबी गरेका छन् । राजावादी प्रदर्शनमा हिंसा भएपछि दुई जनाको मृत्यु र २० जना घाइते भएका थिए ।
पूर्वराजा शाहले केही दिनअघि निर्मलनिवासमा अध्यक्ष राजेन्द्र लिङदेनसहित राप्रपाका केही नेतासँग डिनर बैठक गरेका थिए । त्यस क्रममा तिनकुने घटनाबारे चर्चा भएको राप्रपा नेताहरुले बताएका छन् । पूर्वराजा ज्ञानेन्द्रले सुवेदीलाई आफूले संघर्ष समितिको संयोजक नतोकेको र उनीसँगै भेटघाट नभएको वर्षौं भइसकेको बताएका थिए ।