कपिलवस्तु । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले हाल देशमा देखिएका सबै समस्यको मूल जरो वर्तमान संबिधानमा रहेकोले यसलाई पुनर्लेखन गर्न माग गरेका छन । शुक्रबार तौलिहवामा जसपा नेपाल कपिलवस्तुको आयोजित जिल्लाको प्रथम अधिवेशनको उद्घघाटन गर्दै अध्यक्ष यादवले संबिधान नसच्याए मुलुकले योभन्दा कठिन र जटिल अवस्थाको सामना गर्न बाध्य हुने दाबी गरे ।
फोहोर भैसकेको खोलाको मुहान पहिले सफा गरौँ, पानी आफै स्वच्छ हुन्छ भन्दै यादवले भने,- ‘मुलुकलाई निकास दिन ढिला नगरौं, दफावार धारा पिच्छे त्रुटिपूर्ण रहेको यो संबिधानलाई पुनर्लेखन गर्नुको विकल्प नै छैन।’संबिधान संशोधनकै एजेन्डा अघि सारेर बनेको वर्तमान सरकार सत्तालिप्सा, भ्रष्टाचारी, कमिसनखोर, बिचौलिया र भू माफिया जस्ता देशका धमिरालाई संरक्षण गर्नु बाहेक संबिधानका त्रुटिहरु सच्याउने तर्फ गम्भीर नभएको उनले टिप्पणी गरे ।
संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म अनुसार देशमै संबिधान कार्यान्वयन नभएको भन्दै अध्यक्ष यादवले जारी भएदेखिन यो विकृत संबिधानकै कारणले एक दशकदेखि मुलुक अनिर्णयको बन्दी बन्न बाध्य भएको बताए । ‘ठूला भनिएका तीन दल आफैँले ल्याएको संविधानको कवरमा संघीय लोकतान्त्रिक गणतन्त्र लेखेपनि यसको कार्यान्वयनमा ईमानदार छैनन, यादवले,- ‘यदि संविधान कार्यान्वयन हुँदैन भने त्यसले लोकतन्त्रलाई झन् कमजोर बनाउँछ, त्यसैले संविधानलाई संशोधन गरेर त्यसको मूलमर्म अनुसार पुनर्लेखन गर्नुपर्छ ।
‘कांग्रेस र कम्युनिस्ट जस्ता दलहरू संविधान र संघीयताको कार्यान्वयनप्रति गम्भीर र जिम्मेवार नदेखिएको आरोप लगाउँदै यादवले प्रतिवद्धता बिना कुनै पनि संविधान दीर्घकालीन बन्न सक्दैन, भ्रष्टाचार नियन्त्रण, सुशासन र जनताको विश्वास प्राप्त गर्न बलियो सरकारको आवश्यकता रहेको बताए ।