लन्डन । गैरआवासीय नेपाली व्यवसायी तथा समाजसेवी सुजन कटवाल बेलायती सरकारको प्रतिष्ठित एमबिई पदकबाट सम्मानित भएका छन् । बेलायती राजाको जन्मोत्सवको अवसरमा सार्वजनिक विभिन्न अवार्डको सूचीमा कटवाल प्रतिष्ठित ‘मेम्बर अफ द अर्डर अफ द ब्रिटिस एम्पायर’ (एमबीइ) बाट सम्मानित भएका हुन् ।
पदक सूची सार्वजनिक भएपछि कुरा गर्दै कटवालले, आफू निकै खुसी भएको भन्दै यो सम्मान आफ्नो मात्रै नभएर समाजसेवाका लागि खट्ने टिम, परिवार र आफूलाई सधैँ समाजसेवाका लागि प्रेरित गर्ने समुदायको भएको बताए ।
कटवाललाई समाजसेवामार्फत समुदायमा पुर्याएको विशिष्ट योगदानका लागि यो सम्मान प्रदान गरिएको हो । उनले कोरोनाकालमा दुई लाख ५० हजारभन्दा बढीलाई निःशुल्क खाना उपलब्ध गराएका थिए भने अन्य विभिन्न सामाजिक कार्यमार्फत समुदायको हितमा महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
कटवाल केही महिनाअघि मात्रै बेलायतको एकसय प्रभावशाली व्यक्तिको सूचीमा समेत परेका थिए । सन् १९१७ मा राजा जर्ज पाँचौँले स्थापना गरेको एमबिई अवार्ड समाजको लागि दीर्घकालीन रूपमा प्रभाव पार्ने र अरूको लागि महत्त्वपूर्ण योगदान पुर्याउने उदाहरणीय व्यक्तिलाई राजदरबारले प्रदान गर्दै आएको छ ।
एक हजार २०० जना विभिन्न क्षेत्रमा विशिष्ट योगदान गरेका मानिसलाई राजाको जन्मोत्सवको अवसरमा विभिन्न पदकबाट विभूषित गरिएको हो । त्यसमा पदक प्राप्त गर्ने महिलाको सङ्ख्या ४८ प्रतिशत छ । यसअघि गत वर्ष कीर्तिमानी आरोही पूर्वगोर्खा हरि बुढामगर र सन् २०१८ मा निर्मल पुर्जाले पनि यो सम्मान प्राप्त गरेका थिए ।
बेलायतको साउथ लन्डनस्थित पानस गोर्खा रेष्टुराँका सञ्चालक कटुवाल पानस हेल्पिङ ह्यान्डस् च्यारिटीमार्फत समाजसेवामा सक्रिय छन् । सिटी अफ लन्डनबाट ‘फ्रिडम अफ द सिटी अफ लन्डन’ अवार्डसमेत पाउनुभएका सुजनको सामाजिक संस्था हेल्पिङ ह्यान्डस्ले ‘प्वाइन्ट्स अफ लाइट’ अवार्ड समेत जित्न सफल भएको थियो । नेपालको विराटनगरमा जन्मिएका कटुवाल सन् १९९८ मा बेलायत आएका थिए ।