काठमाडौं । कोरियोग्राफर माइकल चन्दको निर्देशनमा डेब्यु हुँदै गरेको नेपाली फिल्म ‘राम नाम सत्य’ मा कलाकार अनुबन्ध हुने क्रम जारी छ। यसअघि अभिनेता विराज भट्ट, सुशील श्रेष्ठ, र अभिनेत्री दिव्या रायमाझी फिल्ममा आवद्ध भइसकेका थिए। अब सोही फिल्ममा अभिनेत्री सुपुष्पा भट्टपनि अनुबन्धित भएकी छन्। निर्माण पक्षले बुधबार उनको औपचारिक रुपमा लिखित सम्झौता गरेको हो।
निर्देशक माइकल चन्दका अनुसार सुपुष्पालाई एक महत्वपूर्ण भूमिकाका लागि अनुबन्ध गरिएको हो। उनले भने, ‘हामीलाई सुपुष्पा जस्तै हाइट भएकी अभिनेत्री चाहिएको थियो। उहाँको अभिनय पनि अब्बल छ। कथाको पात्रमा फिट भएपछि उहाँलाई अनुबन्ध गरेका हौं।’
हालसम्म फिल्ममा सुपुष्पाको जोडी को हुने भन्नेबारे आधिकारिक रूपमा खुलाइएको छैन। तर, धेरैले अनुमान गरेका छन् कि उनको जोडी विराज भट्टसँग बाँधिन सक्छ, किनभने दुबैको उचाइ मिल्दो छ। यद्यपि, उमेरको अन्तर केही भए पनि उचाइ मिलेकाले पर्दामा राम्रो जोडी देखिन सक्ने निर्माण पक्षको विश्वास छ।
फिल्ममा उपेन्द्र शाही, स्वेता विमली, र उत्तम गुरुङ को लगानी रहनेछ। कार्यकारी निर्मातामा डाक्टर डी.आर. उपाध्याय, टी.आर. गौडेल, र नरेन्द्र शाह रहेका छन्।
एक्सन, लभ र सस्पेन्स प्रधान कथामा निर्माण हुन लागेको यस फिल्मको छायांकन आगामी भदौ महिनाबाट सुरु गरिने तयारी गरिएको छ। फिल्मको छायांकन सुसन प्रजापतिले गर्नेछन्।
निर्माण पक्षका अनुसार केही कलाकारहरू फाइनल भएपछि फिल्मको लाइनअप पूरा हुनेछ।