काठमाडौं । एएफसी एसियन कप २०२७ को छनोट अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोलीले आज मंगलबार लाओसविरुद्ध खेल्दैछ ।
लाओसको न्यु लाओस नेशनल स्टेडियममा हुने खेल साँझ पौने ६ बजे शुरु हुनेछ । छनोटमा नेपाल र लाओस दुवै टोली पहिलो जितको खोजीमा छन् । लाओसविरुद्धको खेलअघि नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो । सो खेल गोलरहित बराबरीमा सकिएको थियो ।
छनोटको समूह एफमा रहेको नेपाल अंकविहीन रुपमा तालिकाको तेस्रो स्थानमा छ । नेपाल रहेको समूहमा लाओससँगै मलेसिया र भियतनाम छन । शुुरुवाती पहिलो खेलमा जित निकालेका भियतनाम र मलेसिया समान ३ अंकमा शीर्ष र दोस्रो स्थानमा छ । जितविहिन नेपाल तेस्रो र लाओस पुछारमा छ ।
छनोटको पहिलो खेलमा नेपाल मलेसियासँग २–० ले पराजित भएको थियो । लाओस पहिलो खेलमा भियतनामसँग ५–० को फराकिलो अन्तरले पराजित भएको थियो । होम एण्ड अवेको आधारमा हुने छनोटको तेस्रो खेलमा नेपालले आगामी अक्टोबर ९ मा भियतनामसँग खेल्नेछ ।
भियतनामसँग नै नेपालले अक्टोबर १४ मा खेल्ने तालिका छ । मलेसियासँग नोभेम्बर १८ मा तथा आगामी मार्च ३१ मा लाओसविरुद्ध खेल्नेछ ।