मकवानपुर- काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त सहकारी घोषणा गर्नुपर्ने मागसहित पीडित बचतकर्ताले बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालय घेराउ गरेका छन् ।
सहकारीमा जम्मा गरेको रकम फिर्ता नपाएका बचतकर्ताहरूले सोमबार मन्त्रालयमा नाराबाजी गर्दै समस्याग्रस्त सहकारी घोषणा गर्न दबाब दिएका छन् । उनीहरूले एक वर्षअघि पनि मन्त्रालयमा निवेदन दिएको तर सुनुवाइ नभएको भन्दै पुनः हेटौंडा आएका हुन् ।
सरकार पीडितको पक्षमा उभिनुको सट्टा समस्याबाट पन्छिन खोजिरहेको पीडतले आरोप लागाएका छन् । १३ हजारभन्दा बढी शेयर सदस्य रहेको सो सहकारीको २ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी रकम अपचलन भएको छ ।
प्रदेश सरकारले सहकारीलाई समस्याग्रस्त घोषणा गरेर निक्षेप सुरक्षित गर्नुपर्ने उनीहरुको माग छ । सहकारीको रकम अपचलन गरेको आरोपमा रास्वपाका अध्यक्ष रवि लामिछाने थुनामा रहेपनि अन्य आरोपितहरूलाई सरकारले कारवाही गर्न नसकेको भन्दै पीडितहरूले राज्यको मिलोमतो रहेको आशंका गरेका छन् ।
सहकारी तथा गरिबी मन्त्रालयका सचिव पूर्ण बहादुर दर्जीले पीडितहरूको मागका आधारमा नै प्रहरी अनुसन्धान अघि बढेको बताउनुभयो । मुद्दा हाल अदालतमा रहेकाले समस्याग्रस्त घोषणा गर्न मिल्ने–नमिल्नेबारे विज्ञहरूसँग आवश्यक छलफलपछि मात्रै भन्न सकिले उहाँले बताउनुभयो ।
मन्त्रालयको सहकारी महाशाखाका अनुसार हालसम्म बागमती प्रदेशमा ५ वटा सहकारी समस्याग्रस्त घोषित भएका छन् । बागमती प्रदेशमा रहेका ३ हजार २ सय २९ सहकारी मध्ये जेठ २५ गतेसम्म ३ सय ५१ वटा सहकारी विरुद्ध उजुरी परेका छन् । तीमध्ये ६० वटा प्रहरी अनुसन्धानमा छन् भने १४ वटा सहकारीको अनुसन्धान जिम्मा सीआईबीलाई दिइएको छ ।