काठमाडौं । नेपाली कांग्रेसले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई रचनात्मक र सकारात्मक सुझावसहित समर्थन गर्ने निर्णय गरेको छ । शनिबार बसेको संसदीय दलको बैठकपछि प्रमुख सचेतक श्याम घिमिरेले कांग्रेसले राष्ट्रिय आवश्यकता झल्कने बुँदाहरू भएकाले समर्थन गर्ने निष्कर्ष निकालेको जानकारी दिए ।
उनका अनुसार नीति तथा कार्यक्रम कार्यान्वयनमुखी बनाउन आगामी बजेट तर्जुमा त्यसअनुकूल हुनुपर्ने कांग्रेसको धारणा छ । साथै, संसद्मा विधेयक निर्माण प्रक्रिया सुस्त भएको भन्दै कांग्रेसले त्यसलाई तीव्र बनाउन सक्रिय भूमिका खेल्ने निष्कर्ष पनि बैठकले निकालेको छ ।