काठमाडौं । बुधबार नेपाल भ्रमणमा आएका भारतीय जनता पार्टी (भाजपा) विदेश विभाग प्रमुख विजय चौथाइवालेले उच्चस्तरीय राजनीतिक भेटवार्ता थालेका छन् ।
उनले बुधबार काठमाण्डू उत्रिएलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नीसमेत रहेकी परराष्ट्रमन्त्री आरजु राणासँग बुढानीलकण्ठस्थित देउवा निवासमा भेटवार्ता गरेका छन् ।
कांग्रेस स्रोतका अनुसार भेटका क्रममा चौथाइवालेले नेपालको वर्तमान सत्ता गठबन्धनप्रति भारतको गहिरो असन्तुष्टि व्यक्त गरेका थिए । उनले विशेष गरी गठबन्धनका केही घटकहरूको गतिविधि भारतविरुद्ध केन्द्रित देखिएको भन्दै चिन्ता व्यक्त गरेको स्रोतको भनाइ छ ।
यसअघि चौथाइवालेले गृहमन्त्री रमेश लेखकसँग भेटेका थिए । गृहमन्त्री लेखकले भेटपछिको प्रतिक्रिया सामाजिक सञ्जाल एक्समा दिँदै, नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउन सकारात्मक कुराकानी भएको बताए ।
उनले चौथाइवालेको भ्रमणले दुई देशबीचको सम्बन्धमा सकारात्मक प्रभाव पार्ने विश्वास पनि व्यक्त गरेका छन् । भाजपा नेता चौथाइवालेको नेपाल भ्रमणलाई राजनीतिक दृष्टिले महत्वपूर्ण मानिएको छ ।
उनले एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीसँग पनि भेट्ने तयारीमा छन् । साथै, सत्ता गठबन्धनका अन्य नेताहरू, विपक्षी दलका नेताहरू तथा मधेसी मोर्चाका नेताहरूसँग पनि छुट्टाछुट्टै संवाद गर्ने कार्यक्रम तय भएको छ ।
नेपालमा रहँदासम्म चौथाइवालेले भारतको वर्तमान विदेश नीतिको सन्देश दिने र नेपाली नेताहरूसँग द्विपक्षीय सरोकारका विषयमा धारणा आदानप्रदान गर्ने अपेक्षा गरिएको छ । उनी शुक्रबार दिल्ली फर्कने छन् ।