सुनसरी । हर्बल सामग्रीको मार्केटिङको बहानामा बालबालिकालाई बन्धक बनाएर काममा लगाउने गिरोहको फेला परेको छ । इलाका प्रहरी कार्यालय इटहरीले इटहरी–९ स्थित बसपार्क नजिकैको बन्दना होटलबाट १२ जना बालबालिकाको उद्धार गरेको हो ।
घटनामा संलग्न रहेका आरोपमा दुई जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।
कम्पनीको नाममा टिकटकमार्फत प्रलोभन
काठमाडौंको चाबहिलमा कार्यालय रहेको वेल्स ग्लोबल इन्टरनेसनल प्रा.लि. नामक कम्पनीले टिकटकमा हर्बल सामग्रीको मार्केटिङका लागि आकर्षक विज्ञापन प्रकाशित गरेको थियो ।
उक्त विज्ञापन हेरेर धनकुटा, सोलुखुम्बु, सिन्धुली, रामेछाप, गोरखा, बाजुरा लगायतका जिल्लाबाट बालबालिका तथा युवाहरू कामको आशामा काठमाडौं पुगेका थिए ।
उनीहरूलाई सुरुमा काठमाडौंमा करिब एक महिना राखेर काम गराइएको र त्यसपछि इटहरी स्थानान्तरण गरी बन्दना होटलमा राखिएको थियो । उनीहरूलाई जबरजस्ती सामग्री बेच्न पठाइन्थ्यो भने घर फर्कन अनुमति नदिइ धम्की दिइन्थ्यो ।
यौन शोषणको उजुरीपछि घटना सार्वजनिक
सिन्धुपाल्चोककी २२ वर्षीया एक युवतीले आफूलाई असार १ र २ गते शरीर बन्धक बनाएर यौन दुर्व्यवहार गरिएको भन्दै प्रहरीमा उजुरी दिएपछि घटना सार्वजनिक भएको हो । उजुरीका आधारमा इलाका प्रहरी कार्यालय इटहरीको टोलीले होटलमा छापा मारेको थियो ।
प्रहरीले घटना संलग्न कम्पनीका मार्केटिङ म्यानेजर ओखलढुंगाको खिजीदिम्बा गाउँपालिका–१ निवासी २९ वर्षीय तिलक श्रेष्ठ र सोलुखुम्बु नेचाकी २२ वर्षीया टीका कट्टेललाई पक्राउ गरेको छ ।
दुवै जनाले आफूसँग रहेका व्यक्तिहरूलाई मानसिक दबाब दिँदै बन्धक बनाएको, घर जान नदिएको, जबरजस्ती पूर्वी सहरहरू- धरान र इटहरीमा सामान बेच्न पठाएको उजुरीका आधारमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारीका अनुसार उद्धार गरिएका १२ जनामध्ये अधिकांश बालिका रहेका छन् । तीमध्ये दुई जनाको स्वास्थ्य परीक्षण गराई सुरक्षित स्थानमा राखिएको छ भने अन्यलाई हाल प्रहरीको निगरानीमा सोही होटलमा राखिएको छ ।
प्रहरीले घटनालाई मानव बेचबिखन, बालश्रम शोषण, र यौन दुव्र्यवहारसम्बन्धी गम्भीर अपराधको रूपमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ ।