>

१७ लाख किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध निःशुल्क खोप दिइँदै

काठमाडौं । आजदेखि देशभरका बालिकाहरूलाई एचपिभी खोप अर्थात पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिइँदै छ । परिवार कल्याण महाशाखाकका अनुसार खोप १० देखि १४ वर्षभित्रका सबै बालिकालाई दिइनेछ । सबै विद्यालयमा र विद्यालय बाहिर गरी देशभरि २८ हजार ५ सय खोप केन्द्रमार्फत खोप दिने तयारी भएको छ ।

विद्यालयमा अध्ययनरत बालिकाका हकमा विद्यालयभित्रै र बाहिरकालाई स्वास्थ्य केन्द्र र नजिकका खोप केन्द्रमार्फत खोप दिने गरी तयारी गरिएको हो । शाखाका अनुसार ९० प्रतिशत खोप केन्द्र विद्यालयमा र १० प्रतिशत बाहिर छन् । कुनै कारणवश खोप लिन छुटेकाहरूका हकमा सम्बन्धित ठाउँमै पुगेर पनि खोप दिने व्यवस्था मिलाइएको छ ।

यो वर्ष नेपाल सरकारले गाभीमार्फत खरिद गरी १७ लाख ३० हजार डोज खोप ल्याएको हो । सबै केन्द्रहरूमा खोप पुगिसकेको शाखाले जनाएको छ । सरकारले सिकोलिन नामको एचपिभी खोप दिन लागेको हो । यो वर्ष १६ लाख ८८ हजार जना बालिकालाई खोप दिइनेछ ।

निःशुल्क दिन लागिएको यो खोपका लागि सरकारले एक अर्ब ३० करोड रूपैयाँ लगानी गरेको छ । पाठेघरको मुखको क्यान्सरका कारण नेपालमा प्रतिवर्ष औसत १३ देखि १४ सय महिलाको मृत्यु हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *