काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकट ६ जना नेताहरूबीच छलफल भएकाे छ । आइतबार पूर्वपदाधिकारीसमेत रहेका ६ जना नेताहरूबीच गोपालमान श्रेष्ठको निवास सानेपामा छलफल भएकाे हाे ।
पूर्वउपसभापति श्रेष्ठको निम्तोमा उनको निवासमा पूर्वउपसभापतिहरू विमलेन्द्र निधि, प्रकाशमान सिंह तथा पूर्वमहामन्त्री शशांक कोइराला र कृष्णप्रसाद सिटौला र प्रवक्ता प्रकाशशरण महत पुगेका हुन् ।
श्रेष्ठ निवासमा भएको जमघटमा नेताहरूले पार्टीभित्रका आन्तरिक विषय र एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अहिलेको गठबन्धन सरकारका गतिविधिबारे छलफल भएकाे बताइएकाे छ ।
नेताहरूको यो भेटघाटले १५ औं महाधिवेशनसम्म देउवा समूहलाई एकढिक्का राख्ने र थप शक्ति विस्तार गर्ने रणनीतिको रुपमा लिइएकाे छ ।
गभर्नर नियुक्तिमा भइरहेको ढिलाइ, पार्टीको क्रियाशील सदस्यता नवीकरण सुस्त गति र त्यसले महाधिवेशनको मितिमा पार्ने प्रभाव तथा सरकारका कामकारबाहीको समीक्षाबारे गहन छलफल भएकाे नेता श्रेष्ठले जानकारी दिए ।