>

चैत २९ गतेभित्र क्रियाशील सदस्यता नवीकरण सक्न काँग्रेसले पठायो पत्र

काठमाडौँ । नेपाली काँग्रेसले क्रियाशील सदस्यता नवीकरणको कार्य चैत २९ गतेभित्र गरिसक्न निर्देशनसहित परिपत्र गरेको छ।

महामन्त्री गगन थापा नेतृत्वको सदस्यता व्यवस्थापन केन्द्रीय समितिले ७७ जिल्ला कार्यसमितिका सभापतिलाई बिहीबार परिपत्र गर्दै चैत २९ गते अपराह्न ३ बजेभित्र क्रियाशील सदस्यता नवीकरण विवरण केन्द्रीय कार्यालयमा पठाउन आग्रह गरेको हो।

साथै क्रियाशील सदस्यता नवीकरणका लागि काँग्रेसले तहगत रूपमा मिति तोकेरै कार्यतालिकासमेत बनाएको छ। काँग्रेसले वडा, गाउँ(नगर, प्रदेश सभा र प्रतिनिधि सभा क्षेत्र तथा जिल्ला कार्यसमितिलाई कार्यतालिकाअनुसार क्रियाशील सदस्यता नवीकरण गर्नसमेत भनेको छ।

‘क्रियाशील सदस्यता नवीकरणसम्बन्धी निर्णयको प्रतिलिपि, अद्यावधिक विवरण, सदस्यता शुल्कलगायत कागजातसहित जिल्लाको प्रतिवेदन चैत २९ गते अपराह्न ३ बजेसम्म अनिवार्य रूपमा पार्टी केन्द्रीय कार्यालय सानेपामा प्राप्त हुने गरी पठाउन अनुरोध छ,’ महामन्त्री गगन थापाले ७७ जिल्ला सभापतिलाई पठाएको परिपत्रमा उल्लेख छ।

काँग्रेसले क्रियाशील सदस्यको विवरणसँगै शुल्कसमेत पठाउन आग्रह गरेको छ। काँग्रेसले पहिले क्रियाशील सदस्यता नवीकरण सक्ने र त्यसपछि मात्रै नयाँ क्रियाशील सदस्यता वितरण गर्ने तयारी गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *