काठमाडौँ । सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँले शुक्रवार चार दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौँ प्रहरीलाई अनुमति दिएको हो ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न ‘अनधिकृत’ पत्र लेखेपछि उनी पक्राउ गरेका थिए । उनीविरुद्ध लिखत किर्ते कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले रातोपाटीलाई बताए । प्रहरीले उनीमाथि मुलुकी अपराध संहिता–२०७४ को दफा २७६ (३) को ‘क’ र ‘ख’ सँग सम्बन्धित कसुरमा अनुसन्धान गरिरहेको छ ।
मुलुकी अपराध संहिता–२०७४ को दफा २७६ (३) को ‘क’ र ‘ख’ अनुसार अदालतको फैसला र आदेश किर्ते गर्न मिल्दैन । सो कसुर गर्नेलाई ८ वर्ष कैद र ८० हजार जरिवाना हुनसक्ने कानुनी व्यवस्था छ ।