काठमाडौं । ललितपुर सिटी फुटबल क्लबले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणमा लगातार दोस्रो पटक उपाधि जितेको छ । शनिबार दशरथ रंगशालामा सम्पन्न फाइनलमा ललितपुरले पोखरा थन्डर्सलाई २–१ ले पराजित गर्दै च्याम्पियन बनेको हो ।
लिग चरणदेखि अपराजित रहँदै आएको ललितपुरले पहिलो हाफमा इमोह इजेकेलको गोलमार्फत अग्रता लिएको थियो । दोस्रो हाफमा पोखराका सुदील राईले बराबरी गोल फर्काए पनि ७४औं मिनेटमा पापा इबोउ केबेले गोल गर्दै ललितपुरलाई पुनः अग्रता दिलाए र उपाधि सुनिश्चित गरे ।
उपाधिसँगै ललितपुरले ८० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता पोखराले ३० लाख रुपैयाँमा चित्त बुझाएको छ ।