पाँचथर । पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते भएका ३ जना मजदुरको मृत्यु भएको छ। मेची राजमार्गस्थित पाँचथरको हेवा खोलामा शनिबार निर्माणाधीन बेलिब्रिज खस्दा घाइते भएका बाराको सिमराका ३ जना मजदुरको उपचारकोक्रममा विराटनगरमा मृत्यु भएको हो।
बाराको सिमरा उपमहानगरपालिका–१२ निवासी २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरीको मृत्यु भएको हो ।
बेलिब्रिज भत्किएपछि गम्भीर घाइते भएका उनीहरूलाई पाँचथर अस्पतालबाट थप उपचारका मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ अस्पताल पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
गत वर्ष असोज १२ गते आएको बाढीले यहाँको बेलिब्रिज बगाएपछि यहाँ पुनः जडानको काम भइरहेको थियो । जडान नसकिँदै बेलिब्रिज खसेको हो । उक्त घटनामा ६ जना कामदार घाइते भएका थिए ।