काठमाडौं । केही समय यता नेपालमा राजतन्त्र पुनर्स्थापनाको मागले राजनीतिमा हलचल ल्याएको छ ।
गत फागुन २५ गते पूर्व राजा ज्ञानेन्द्र शाह एक साता लामो पोखरा घुमघाम गरेर काठमाडौं फर्किदा उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा), राजावादी लगायतले गरेको भब्य स्वागतपछि राजनीतिमा खैलाबैला भएको छ । नेपालका प्रमुख राजनीतिक दलहरु नेपाली कांग्रेस,नेकपा एमाले,नेकपा माओवादी र संसदमा समेत राजाको स्वगत चर्चाको विषय बन्यो ।
कांग्रेस,एमाले र माओवादीका नेताहरु नेपालमा राजतन्त्र पुनर्स्थापनाको कुनै संभावना नभएको भन्दै बोल्न थाले त्यसमा सबैभन्दा चर्का स्वरमा बोल्ने माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सो पार्टीका अरु नेताहरु रहे । पूर्व राजाको भब्य स्वागत हुनुमा उनले गत फागुन ७ गते प्रजातन्त्र दिवशका अवसरमा दिएको शन्देशमा राष्ट्र जोगाउन र राष्ट्रिय एकता कायम राख्न आफूलाई साथ दिन नेपाली जनतालाई आव्हान गरेका थिए । उनले जनताको भलाइका लागि आफूले ओहोदा र सुख सुविधा त्यागेको भन्दै राजनीतिक दलहरुलाई लक्षित गरेर व्यवस्था बदल्नेबाट नागरिकको अवस्था परिवर्तन हुन नसकेको बताएका थिए । यसले राप्रपा र राजावादीहरुलाई निकै ठूलो हौसला मिल्यो ।अनि पोखराबाट फर्किदा काठमाडौंमा उनको भब्य स्वागत भयो । जसले राजनीतिक दलहरुलाई झस्क्यायो ।
नागरिकहरु राजनीतिक दलहरुले देश र जनताका पक्षमा केही नगरेको भन्दै असन्तुष्ट छन् । त्यो असन्तुष्टि सडकमा पोखिएको मान्न सकिन्छ । नेपालमा पहिलो संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ मा २ सय ४० वर्षे शाह बंशीय राजतन्त्रको अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा परिणत गरेको थियो।
त्यसतबेला ज्ञानेन्द्र शाहले बिना कुनै सक्तपात सहज रुपमा राजगद्धी त्यागेका थिए । नेपालमा राजतन्त्र अन्त्य भएको १६ वर्ष भएको छ । नेपाली जनता राजनीतिक दलहरुको व्यवहार र काम गराईबाट वाक्क दिक्क भइरहेको बेला राजावादीहरुले राजतन्त्रको मुद्धा चर्काएका छन् । पूर्व राजा शाह जता गएपछि उनको स्वगतमा स्वत स्फूर्त रुपमा मानिसहरु जम्मा हुने गरेका छन् ।
आज उनी गोरखाका धार्मिक स्थलहरुमा जाँदा पनि त्यस्तै देखियो । आफ्ना समर्थक माझ पूर्व राजा शाहले लामो समयपछि आफ्ना पुर्खाको थलो आउन पाउँदा खुशी लागेको भन्दै कसैले कसैको कुभलो नचिताउन र शान्ति बनाई राखौं भन्ने चाहना व्यक्त गरे । पूर्व राजा शाह र उनको परिवारलाई बिभिन्न जिल्ला घुमघामका क्रममा जुन स्वागत र आकर्षण देखिएको छ यसले नेपालमा पनि राजसंस्था पुनस्र्थापनाको चर्चा चुलिएको छ । इतिहासमा कतिपय देशरुरुमा राजतन्त्र पुनर्स्थापना भएका उदाहरण पनि छन् ।
स्पेन (१९७५)
जनरल फ्रान्सिस्को फ्रान्कोहरूले स्पेनमा राजतन्त्रलाई हटाएका थिए। तर त्यसबेला स्पेनमा राजा हटाएर निरङ्कुश तानाशाही ब्वस्था चल्यो। तर,केही बर्षपछि नै स्पेनका जनताले राजा जुआन कार्लोस प्रथमलाई पुनः गद्दीमा राखिदिएका थिए। स्पेन फेरि संवैधानिक राजतन्त्रमा फर्किएको थियो
इङ्ग्ल्याण्ड (१६६०)
इङ्ग्ल्याण्डमा राजा चाल्र्स द्वितीयलाई सन् १६६० मा पुनर्स्थापित गरिएको थियो। सन् १६४९ मा राजा चाल्र्स प्रथमको मृत्युदण्डपछि इंग्ल्याण्डमा ओलिभर क्रोमवेलको नेतृत्वमा गणतन्त्र स्थापना भएको थियो । त्यसबेला ओलिभर क्रोमवेलको टीमको दम्भ, अहङ्कार खपिनसक्नु भयो। क्रोमवेलको मृत्युपछि त्यहाँका जनताले राजतन्त्रलाइ पुनस्र्थापित गरिदिएका थिए।
फ्रान्स (१८१४ र १८१५)
फ्रान्सेली क्रान्ति (१७८९–१७९९) पछि नेपोलियन बोनापार्टले शक्ति हातमा लिएका थिए । तर सन् १८१४ मा नेपोलियन पराजित भएपछि राजा लुई १८ औंलाई गद्दीमा पुनर्स्थापित गरियो । सन् १८१५ मा नेपोलियनले पुनः सत्ता हात पार्न खोजे । तर वाटरलू युद्धमा पराजित भएपछि राजतन्त्र पुनः स्थापित भयो । वाटरलूको युद्धपछि उनलाई अन्तिम रूपमा हटाएर फेरि लुई १८औं लाई नै राजा बनाइयो।
इटाली (१८१४)
नेपोलियनले हटाएका केही इटालियन राजकुमारहरू १८१४ मा पुनर्स्थापित गरिए। विशेषगरी सार्डिनियाको राजा विक्टर इम्यानुएल प्रथमलाई जनताले पुनः गद्दीमा फर्काएका थिए। नेपोलियन बोनापार्टको पतनपछि सन् १८१५ मा भिएना सम्मेलन मार्फत इटालीका विभिन्न राज्यहरूमा राजतन्त्र पुनर्स्थापित गरिएको थियो ।
क्याम्बोडिया (१९९३)
क्याम्बोडियामा १९७० मा राजा नरोदम सिहानुकलाई हटाएर गणतन्त्र स्थापना गरिएको थियो। तर जनताले १९९३ मा पुनः राजतन्त्र पुनस्र्थापित गरेका थिए। १९७५–१९७९ को खमेर रूज शासनपछि देश राजनीतिक अस्थिरतामा फस्यो । १९९३ मा संयुक्त राष्ट्रसंघको शान्ति प्रयासपछि राजा नोरोदम सिहानुकलाई पुनः गद्दीमा ल्याइयो र संवैधानिक राजतन्त्र पुनर्स्थापित गरियो ।
अफगानिस्तान (२००१)
पनि राजतन्त्र पुनर्स्थापनाको माग भएको थियो । सन् २००१ मा राजा शेख जाहिर शाहलाई सम्मानजनक रूपमा ‘राष्ट्रपिता’ घोषणा गरिएको थियो । जनताले उनलाई पुनर्स्थापित गरेता पनि उनलेनै राजा हुन इन्कार गरे ।
नेपालमा संभव छ त ?
नेपालमा राजतन्त्र पुनर्स्थापनाको माग भइरहँदा त्यो विषय नेपालको संविधान २०७२,राजनीतिक राष्ट्रिय, अन्तर्राष्ट्रिय परिवेश,जनमत आदिमा निर्भर गर्छ । नेपालको संविधान २०७२ ले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक भनेको छ । राजतन्त्र पुनर्स्थापनाको लागि संविधान संशोधन हुनैपर्छ । त्यस्तै कांग्रेस एमाले र माओवादीले समर्थन नगरेसम्म राजतन्त्र पुनर्स्थापना त्यति संभव छैन । किनकि धेरै ठूलो जनमत उनीहरुकै पक्षमा छ । तर जनमत एकजुट भएको खण्डमा असंभव भन्ने केही छैन ।