काठमाडौं । नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजाले सार्वजनिक गरेको अभिव्यक्तिलाई लिएर समाजमा अराजकता फैलाइएको भन्दै आपत्ति जनाएकी छिन् ।
आईतवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद न्यौपानेले वर्तमान व्यवस्था ल्याउन कुनै योगदान नदिएकाहरुले नै समाजमा अराजकता फैलाइरहेको बताएकी हुन् । उनले पूर्वराजाको अभिव्यक्तिलाई लिएर समाजमा वर्तमान व्यवस्था नै ठिक छैन भनेर डंका पिटिएको टिप्पणी गरिन् ।
सांसद न्यौपानेले लोकतन्त्रमा बोल्न पाइने भएपनि समाजलाई अराजकतातिर धकेल्ने छुट कसैलाई पनि नभएको उल्लेख गरिन् । सांसद न्यौपानेले व्यक्तिले गरेको गल्तिलाई सुधार गर्दै लैजान सकिने भएपनि व्यवस्थामाथिको प्रहार कुनैपनि बहानामा स्वीकार्न नसकिने बताईन् ।