काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसका अवसरमा ‘देश जोगाउनका लागि आफूलाई साथ दिन’ आह्वान गरेपछि राजावादीमा खुसियाली छाएको छ । राप्रपा, राप्रपा नेपालका नेताहरुले सामाजिक सञ्जालमार्फत आ–आफ्नो विचार अघि सार्न थालेका छन् ।
पूर्वराजाको सन्देशले अब राजतन्त्र पुनःस्थापनाका लागि निर्णायक संघर्ष हुने भन्दै फेरि एकपटक गोलबन्द हुनुपर्ने बताउन थालेका छन् । पूर्वराजाले आफूले गरेको त्यागलाई कमजोरी नठान्न पनि उनले दलहरूलाई चेतावनी दिएका थिए ।
‘हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौं । नेपालको उन्नतिका लागि हामीबाट अरु के के त्याग गर्नुपर्ने हो, हामी तयार छौं । अब समय आयो । राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरूलाई आह्वान गर्छौं,’ पूर्वराजाले प्रजातन्त्र दिवसका अवसरमा भनेका छन् ।
यसपटकको वक्तव्यमा उनले मूर्तरूपमै आफूलाई साथ दिन आह्वान गरेकाले राजावादी क्याम्प उत्साहित बनेको हो । राप्रपा महामन्त्री धवलशमशेर राणाले पूर्वराजाकाे कदमलाई आफ्नाे दलले पूर्ण समर्थन गर्ने घाेषणा गरिसकेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले फेसबुकमार्फत सबैलाई तयारी अवस्थामा रहन आह्वान गरेका छन् । ‘प्रजातान्त्र दिवसको उपलक्ष्यमा शुभ सन्देश प्राप्त जो जहाँ छौं त्यतै स्थानमा रहनका साथै तयारी अबस्थामा रहन अनुरोध गर्दछौं । यो सन्देश सबैमा पुर्याउन अपील गर्दछौं,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पूर्वराजाको अभिव्यक्ति यत्तिकै हचुवामा आएको होइन । पूर्वराजालाई साथ दिन अब हामी अगाडि बढ्ने हो । संसददेखि सडकसम्म हामी जनमतसंग्रहको आवाज उठाउँछौं । यसको छिनोफानो हुनैपर्छ ।’
शाहीले राजावादी सबै शक्ति र गणतन्त्रवादी पार्टीहरूमा रहेका राजाका शुभेच्छुकहरू एक ठाउँमा आएर आन्दोलनको आँधिबेहेरी ल्याउने बताएका छन् ।