काठमाडौं । भारतको उडिसा स्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी केआइआइटीले नेपाली विद्यार्थीहरूलाई विश्वविद्यालयबाट निष्कासन गर्ने निर्णय फिर्ता लिएको छ ।
विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्साल मृत भेटिएको घटनाबारे अनुसन्धान गर्न माग गरेपछि विश्वविद्यालयले नेपाली विद्यार्थीहरूलाई निष्कासन गरेको थियो । चौतर्फी विरोधपछि विश्वविद्यालयले सोमबार साँझ सूचना निकालेर नेपाली विद्यार्थीहरूलाई फिर्ता भएर अध्ययन सुचारु गर्न अपील गरेको हो । साथै विश्वविद्यालयले प्रकृतिको मृत्यु प्रकरणसँग जोडिएका आरोपीलाई प्रहरीले पक्राउ गरिसकेको पनि जानकारी गराएको छ ।
केआइआइटीले नेपाली विद्यार्थीहरूमाथि दमन गरेर निष्कासन गरेको भन्दै चर्को आलोचना भएपछि निर्णय फिर्ता भएको हो । यसैबीच भारतको ओडिसा स्थित कलेजबाट लखेटिएका नेपाली विद्यार्थीलाई फर्काउन भारतीय प्रहरी नै लागि परेका छन् ।
विद्यार्थीमाथि ज्यादती गरिएको भन्दै चौतर्फी आलोचना भएपछि फर्काउन पहल गरिएको हो । दिल्ली स्थित नेपाली दूतावासको पहलपछि कलेजले विद्यार्थीलाई होस्टेलमा फर्काउन सहमति जनाएको छ । सहमतिपछि ओडिशाको बलेश्वर स्थित ट्रेन स्टेशनमा नेपाल फर्किन लागेका विद्यार्थीहरूलाई प्रहरीले होस्टल फर्कन दबाब दिएको बताइएको छ । केही विद्यार्थीहरू आफ्नै पहलमा नेपाल फर्किन लागेका छन् भने केही विद्यार्थीले भारतमै विश्वविद्यालय बाहिर विभिन्न होटलहरुमा आश्रय लिइरहेका छन् ।
भारत स्थित नेपाली दूतावासले पनि विज्ञप्ति जारी गरी प्रकृति लम्सालको मृत्युसम्बन्धमा निष्पक्ष छानबिन गर्न र त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षाका लागि भारतको केन्द्र सरकार, राज्य सरकार र विश्वविद्यालय प्रशासनसँग निरन्तर संवाद भइरहेको बताएको थियो । केआइआइटीमा हाल एक हजारभन्दा बढी नेपाली विद्यार्थीहरू अध्ययनरत छन् ।