काठमाडौँ । मध्य प्रदेशका आदिवासी मामिला मन्त्री कुँवर विजय साह पाकिस्तानविरुद्धको आक्रमणमा संलग्न भएकी कर्णेल सोफिया कुरेसीलाई ‘आतंकवादीको बहिनी’ भने पछि हंगामा मच्चिएको छ ।
साहविरुद्ध अदालतको आदेशमा एफआइआर (प्रथम सूचना प्रतिवेदन) दर्ता भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मध्य प्रदेश उच्च न्यायालयले साहको टिप्पणी ‘क्यान्सरजस्तो र खतरनाक’ भन्दै उजुरी दर्ता गर्न निर्देशन दिएको थियो ।
त्यसको केही घण्टापछि यो एफआईआर दर्ता भएको हो । एक्समा एक पोस्टमा, मुख्यमन्त्री मोहन यादवले उच्च न्यायालयको आदेशपछि मन्त्री साहविरुद्ध कारबाही गर्न निर्देशन दिइएको बताए ।
न्यायाधीश अतुल श्रीधरन र अनुराधा शुक्लाको संयुक्त इजलासले भनेको छ, ‘कर्णेल कुरेशी पहलगाम हमला गर्ने आतंकवादीहरूको बहिनी हुन् भन्ने मन्त्रीको यो भनाइले प्रथम दृष्टिमा अलगाववादी गतिविधिहरूलाई प्रोत्साहन गर्छ, जसले भारतको सार्वभौमसत्ता, एकता र अखण्डतालाई खतरामा पार्छ ।’
मंगलवार महुमा आयोजित एक कार्यक्रममा बोल्दै शाहले कुरेशीलाई आतंकवादीकी बहिनीको संज्ञा दिएका थिए । उनले भनेका थिए, ‘जुन आतंकवादीले भारतका छोरीहरूलाई विधवा बनाए, उनीहरूलाई प्रधानमन्त्री नरेन्द्र मोदीले उनीहरूकै बहिनीमार्फत सबक सिकाए ।’
साहले यो भनाइ तीन पटक दोहोर्याएका थिए । काँग्रेसले यो अभिव्यक्तिमा आपत्ति जनाएको छ । कुरेशी ‘अपरेसन सिन्दूर’ को समयमा प्रेस ब्रिफिङ गर्ने सैन्य अधिकारी थिइन् ।
अदालतले भनेको छ, ‘सशस्त्र बलले देशमा एकता, परिश्रम, बलिदान, निस्वार्थता र असीमित साहसको प्रतिनिधित्व गर्छ, जससँग देशको हरेक नागरिकले गर्व गर्न सक्छ । तर, विजय शाहले यसलाई निशाना बनाए ।’
‘मन्त्रीले कर्णेल कुरेशीविरुद्ध अपमानजनक टिप्पणी गरे, जुन स्पष्ट रूपमा उनलाई नै लक्षित थियो, किनकि उनको टिप्पणीमा अरू कोही मेल खाँदैन,’ न्यायमूर्ति श्रीधरनले भने, ‘समाचारपत्रहरू र इन्टरनेटमा उपलब्ध डिजिटल प्रमाणहरूमा मन्त्रीको भाषण स्पष्ट छ, जहाँ उनले प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवादीको बहिनीलाई पठाएर उनीहरूलाई ठिक गरेको भनेर उल्लेख गरेका छन्,’ अदालतले भन्यो, ‘उनको टिप्पणी क्यान्सरजस्तो र खतरनाक छ ।’
यो भनाइले मुस्लिम समुदाय र अन्य धर्मका व्यक्तिहरूबीच वैमनस्य, शत्रुता वा द्वेषको भावना उत्पन्न गर्न सक्ने अदालतले बताएको छ ।