काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले सरकारले ब्रह्मलुट गर्नका लागि अध्यादेश ल्याएको बताएका छन् ।
काठमाडौंमा शनिवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुई तिहाई बहुमत पाएको बेलामा भूमिसुधार गर्न सकिने आधारहरू रहे पनि त्यसतर्फ जान नसकेको बताए । उनले वैज्ञानिक भूमि सुधार गर्नुपर्नेमा सरकारले अहिले व्रह्मलुट गर्नका लागि अध्यादेश ल्याएको जिकिर गरे ।
उनले कृषि क्रान्ति गर्दै कृषिलाई आधुनिकीकरणतर्फ लैजान जरुरी रहेको बताए । उनले किसानले बजार नपाउने समस्याको अन्त्य गर्न जरुरी रहेको बताए । देश संकटउन्मुख रहेको उनको भनाइ छ ।
सम्मानित नेता खनालले भ्रष्टाचार अन्त्य गरी भ्रष्टाचार गर्नै नपर्ने र गर्नै मन नलाग्ने किसिमको समाजवाद निर्माण गर्न जरुरी रहेको बताए । उनले समाजका विकार र विकृतिहरू हटाउँदै जानुपर्ने बताए ।
उनले नेपाली भूभाग विदेशीको कब्जामा रहेको र त्यसलाई फिर्ता ल्याउने कुनै पहल हुन नसकेको बताए । समाजवादको जामा लगाउनेहरू समाजमा धेरै रहेको बताउँदै नाम मात्रैको समाजवादीले समाजवादमा नपुगिने उनी बताउँछन् ।