काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तन आजको विश्वको प्रमुख चिन्ताको विषय भएकाले यो समस्या समाधानका लागि सबै मिलेर काम गर्नुपर्ने बताएका छन्। राष्ट्रपति पौडेल र बेलायतका राजकुमार एडवार्डबीच मंगलबार राष्ट्रपति भवन शीतल निवासमा भएको शिष्टाचार भेटमा उनले सो धारणा व्यक्त गरे।
“जलवायु परिवर्तन आज विश्वको प्रमुख चिन्ताको विषय बनेको छ। जलवायु परिवर्तनको प्रत्यक्ष मारमा परेको नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा हिमाल संरक्षणको विषयलाई प्रमुखताका साथ आवाज उठाउँदै आएको छ,” राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
यसै सन्दर्भमा नेपालले सगरमाथा संवादको थालनी गर्न लागेको जानकारी दिँदै उनले उक्त मञ्चको पहिलो संस्करण आगामी १६ देखि १८ मेसम्म काठमाडौंमा “जलवायु परिवर्तन, हिमाल र मानवको भविष्य” विषयमा आयोजना हुन लागेको बताए।
राष्ट्रपति पौडेलले बेलायतका राजपरिवारका सदस्यहरूबाट विभिन्न समयमा हुँदै आएका नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ मजबुत पार्न योगदान दिएको उल्लेख गरे। साथै उनले महारानी एलिजाबेथ द्वितीय र राजकुमार फिलिपबाट सन् १९६० र १९८६ मा नेपालको राजकीय भ्रमण भएको स्मरण गरे।
“नेपाल र बेलायतबीच सदियौँदेखि घनिष्ठ सम्बन्ध रही आएको छ। महत्वपूर्ण विकास साझेदारसमेत रहेको बेलायतले नेपालको चौतर्फी विकासमा सहयोग पुर्याउँदै आएकोमा धन्यवाद व्यक्त गर्छु,” राष्ट्रपति पौडेलले भने। साथै उनले नेपाली नागरिक र आफ्नातर्फबाट राजा चार्ल्सको व्यक्तिगत सुख एवम् सुस्वास्थ्यको शुभकामना व्यक्त गरे।
बेलायतका राजकुमार एडवार्ड धर्मपत्नी सोफीयासहित आजै काठमाडौं आएका छन्। सो शिष्टाचार भेटमा बेलायतका राजकुमारकी धर्मपत्नी सोफिया र नेपालका लागि बेलायती राजदूत सहभागी थिए।
सो अवसरमा राजकुमार एडवार्डले नेपालमा जलवायु परिवर्तनले पारेको असर र त्यसको न्यूनीकरणमा नेपालले गरेको प्रयासका बारेमा भ्रमणका क्रममा जानकारी लिने विश्वास व्यक्त गरे। उनले भ्रमणका क्रममा प्रकृति कति जोखिम अवस्थामा छ र हिमालमा जलवायु परिवर्तनले कस्तो असर पारेको छ भनेर बुझ्न पाउने बताए।
नेपाल भ्रमण गर्न पाउँदा खुशी लागेको उल्लेख गर्दै राजकुमार एडवार्डले नेपाल–बेलायतबीच भविष्यमा सहयोगको आदानप्रदान गर्दा युवा र महिला सशक्तिकरणको विषय सान्दर्भिक हुने बताए। उनले ब्रिटिश सेनामा नेपालले भर्तिको लागि दिएको स्वीकृतिका लागि आभार व्यक्त गर्दै नेपाल–बेलायतबीचको सुमधुर सम्बन्धमा ब्रिटिश गोर्खा सेना कोशेढुंगा रहेको उल्लेख गरे।
“ब्रिटिश–गोर्खा” द्विपक्षीय सम्बन्धको महत्वपूर्ण कडी
सोही अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बेलायती सेनाको गोर्खा ब्रिगेडका प्रमुख मेजर जनरल जेराल्ड स्ट्रिकल्याण्डले “ब्रिगेड अफ गोर्खा” को सन् २०२४ को वार्षिक प्रतिवेदन पेश गरे।
राष्ट्रपति पौडेलले सो प्रतिवेदन प्रस्तुत गरेकामा बेलायत सरकारप्रति आभार प्रकट गर्दै “ब्रिटिश–गोर्खा” द्विपक्षीय सम्बन्धको महत्वपूर्ण कडी भएको बताए। “ब्रिटिश–गोर्खा हाम्रो द्विपक्षीय सम्बन्धको महत्वपूर्ण कडी हो। जनस्तरको सम्बन्धलाई थप सुदृढ गर्न पनि यसले महत्वपूर्ण योगदान पुर्याएको छ,” राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहकार पोखरेलले जानकारी दिए।
पूर्व ब्रिटिश गोर्खाका केही जायज गुनासा सम्बोधन गर्न गठन भएको द्विपक्षीय संयन्त्रमा सकारात्मक छलफल भइरहेको विश्वास राष्ट्रपति पौडेलले व्यक्त गरे।