काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गैर आवासीय नेपाली संघ (एनआरएनए) भित्र राजनीतिक गतिविधि नगर्न आग्रह गरेकी छन् । शनिबार काठमाडौंमा आयोजित एनआरएनएको एकता महाधिवेशनलाई सम्बोधन गर्दै उनले संस्थालाई राजनीतिको होइन, समृद्धिमा सहयोग गर्ने थलोका रूपमा लिनुपर्ने धारणा राखिन् ।
“यहाँ आएर राजनीति नगरिइदिनुस्, देशलाई समृद्ध बनाउनेतर्फ योगदान दिनुस्,“मन्त्री राणाको भनाइ थियो । उनले राजनीति गर्नेहरूलाई समृद्धिको ठोस कार्य योजना नहुने टिप्पणी गर्दै विदेशमा काम गरेर, सङ्घर्ष गरेर अगाडि बढेका गैर आवासीय नेपालीहरूले नेपालमै परिणाम दिन सक्ने क्षमताको प्रशंसा गरिन् ।
“विदेशमा तपाईँहरूले जे भोग्नुभयो, त्यसको अनुभव नेपालमा प्रयोग गर्न सक्नुहुन्छ। तपाईँहरू आफ्ना परिवार, समाज र देशको परिवर्तनका लागि प्रेरणादायी शक्ति हुनुहुन्छ,“ मन्त्री राणाले भनिन् । उनले एनआरएनएलाई नेपाल विकासमा सहकार्य गर्ने भरपर्दो साझेदारको रूपमा चित्रण गर्दै सहयोगको आह्वान गरिन् ।