काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह यो साता गोरखा भ्रमणमा जाने भएका छन् । धार्मिक कार्यक्रममा सहभागी हुनका लागि उनको गोरखा भ्रमण तय भएको उनको सम्वाद सचिवालयले जनाएको छ ।
पूर्व राजाले गोरखनाथ, गोरखकाली र मनकामना मन्दिरमा पूजा गर्ने उनका सम्वाद सचिव डा. फणिराज पाठकले जानकारी दिए । गोरखनाथको शाहवंशीय राजाहरूको राजपाठ सञ्चालनमा विशेष सम्बन्ध रहेको छ ।
गोरखनाथको आशीर्वाद र प्रेरणाका कारण द्रव्य शाह र पृथ्वीनारायण शाहले जित हासिल गरेको विश्वास गरिन्छ । पूर्व राजाले वर्तमान राजनीतिक व्यवस्थाप्रति असन्तुष्टि जनाउदै आएका छन् । लामो समय पोखरा बसेर फर्कने क्रममा अघिल्लो साता पूर्व राजाको काठमाडौंमा भव्य स्वागत भएको थियो ।
पूर्व राजाको स्वागतमा जनउपस्थिती बढेपछि राजवादीहरुले आगामी चैत्र १५ गते काठमाडौंमा राजसंस्थाको माग गर्दै प्रदर्शनको तयारी गरेका छन् ।