काठमाडौं । उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी आहा रारा पोखरा गोल्डकपको च्याम्पियन बनेको छ । सर्वाधिक सफल टोली मानिएको नेपाल पुलिस क्लबविरुद्ध ३–१ को जित निकाल्दै उज्वेकिस्तानको ब्लाक बुल्स च्याम्पियन भएको हो । ब्ल्याक बुल्स पहिलो सहभागितामै च्याम्पियन बन्न सफल भएको हो ।
शनिबार पोखरा रंगशालामा सम्पन्न फाइनलमा ब्ल्याक बुल्सलाई जित दिलाउन जाखोन्गिर अखमादोभ, असिलबेक ओरिफजोनोभ र शभ्कतजोन सतोरोभले समान एक एक गोल गरेका थिए भने पुलिसका लागि एक गोल त्यो पनि आत्मघाती उपाहार स्वरुप प्राप्त भएको थियो ।
खेलको पहिलो हाफको ४०औं मिनेटमा अखमादोभको गोलमार्फत ब्ल्याक बुल्सले अग्रता लिएको थियो भने दोस्रो हाफको ५८औं मिनेटमा ओरिफजोनोभले टोलीको अग्रता दोब्बर बनाउन सफल भए ।
सतोरोभ ६६औं मिनेटमा गोल गर्दा ब्ल्याक बुल्स ३–० ले अगाडि बढिसकेको थियो तर ७७औं मिनेटमा अलिजोन अलिजोनोभबाट आत्मघाती गोल हुन पुग्दा खेल ३–१ को स्थितीमा आयो । त्यसपछि थप गोल निस्कन नसक्दा ब्ल्याक बुल्स यस बर्षको आहा गोल्डकपको च्याम्पियन बन्न सफल भएको हो ।
सेमिफाइलनमा ब्ल्याक बुल्सले थ्री स्टार र पुलिसले चर्च ब्वाइज ब्वाइज युनाइटेडलाई पराजित गरेर फाइनलमा पुगेका थिए ।