>

विराट गोल्डकप फुटबलको नवौँ संस्करण फागुन १९ गतेदेखि

विराटनगर । विराट गोल्डकप फुटबल प्रतियोगिताको नवौँ संस्करण यही फागुन १९ गतेदेखि २८ गतेसम्म विराटनगरको सहिद रङ्गशालामा आयोजना हुने भएको छ ।

विराट गोल्डकप ट्रस्टद्वारा सोमबार रङ्गशालामा आयोजित पत्रकार सम्मेलनमा फुटबल प्रतियोगिता ‘फ्लडलाइट्स’को माध्यमबाट रात्रिकलीन समयमा हुने जानकारी दिइएको हो ।

प्रतियोगितामा नेपाल र भारतका १० वटा ‘ए’ डिभिजनका टिमको सहभागी हुने प्रतियोगिताका संयोजक नवीन रिजालले जानकारी दिए । उनका अनुसार नेपालको तर्फबाट एनआरटी, थ्रीस्टार, मछिन्द्र क्बल, चर्च ब्वाइज, विभागीय टोली नेपाल पुलिस, एपीएफ, त्रिभुवन आर्मी र आयोजक मोरङ टिम सहभागी हुनेछन् ।

प्रतियोगिताका विजेतालाई ११ लाख र उपविजेतालाई पाँच लाख रुपैयाँ पुरस्कार दिने जनाइएको छ । उत्कृष्ट प्रशिक्षकलाई १५ हजार, उत्कृष्ट गोलरक्षकलाई १५ हजार, सर्वाधिक गोलकर्तालाई नगद १५ हजार, दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई ११ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने संयोजक रिजालले जानकारी दिए ।

रिजालका अनुसार सर्वोकृष्ट हुने खेलाडीलाई ५१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । प्रतियोगिता सम्पन्न गर्न एक करोड ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *