काठमाडौं । प्रधानमन्त्री केपी ओली र प्रमुख सत्तारुढ दल काँग्रेसका सभापति शेरबहादुर देउवाले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई टेलिफोन गरी सरकारले हालै ल्याएका ६ अध्यादेश पारित गर्न सहयोग गर्न आग्रह गरेका छन्।
सोमबार जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक जारी रहेको समयमा ओली र देउवाले पालैपालो यादवलाई फोन गरेर अध्यादेशमा सहयोग गर्नका लागि आग्रह गरेका हुन्।
“हाम्रो बैठक चलिरहेका बेला ओली र देउवाजीले पालैपालो फोन गरेर अध्यादेश पारित गर्न सहयोग माग्नुभयो,” जसपाका एक वरिष्ठ नेताले भने। “अध्यक्षजीले पार्टीमा सरसल्लाह गरेर जवाफ दिने बताउनुभयो।”
सरकारले आगामी बुधबारको प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकबाट उक्त अध्यादेश पारित गर्ने तयारी गरेको छ। जसपा बैठकले सह-अध्यक्ष राजकिशोर यादवको नेतृत्वमा अध्यादेश अध्ययन गर्न कार्यदल गठन गरेको छ। उक्त कार्यदललाई बुधबारको संसद बैठक अघि अध्ययन प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ।
अध्यक्षले भनेको छ कि अध्यादेश संघीय संसदका दुवै सदनबाट बहुमतले पारित गर्नुपर्ने हुन्छ। प्रतिनिधिसभामा सत्तापक्षको समर्थन लगभग दुई तिहाईको नजिक छ भने, राष्ट्रियसभामा सत्तापक्ष अल्पमतमा रहेको छ।
५९ सदस्यीय राष्ट्रियसभामा बहुमतका लागि ३० सांसदको समर्थन आवश्यक छ। राष्ट्रियसभामा सत्तापक्षका कांग्रेसका १६, एमालेका १०, मनोनीत २ र लोसपाका १ गरी २९ सांसद छन्।
विपक्षमा माओवादीका १७, एकीकृत समाजवादीका ८ र राष्ट्रिय जनमोर्चाका १ सांसद गरी २६ जना छन्। यसरी, ३ सांसद रहेको जसपा निर्णायक भूमिका खेल्ने देखिएको छ। जसपाले समर्थन गरेमा मात्रै अध्यादेश पारित हुन सक्छ। यदि दुवै सदनको बहुमतले अस्वीकृत गरेमा अध्यादेश निस्क्रिय हुनेछ।