काठमाडौं । राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्रले नेपालमा राजतन्त्र फर्कंदा छिमेकी भारतलाई पनि फाइदा पुग्ने जिकिर गरेका छन् ।
बीबीसी हिन्दीको अनलाइन संस्करणमा प्रकाशित एक समाचारमा मिश्रले नेपालमा राजतन्त्र पुनस्र्थापना हुँदा भारतलाई लाभ हुने बताएका हुन् ।
नेपालमा कम्युनिष्ट नेतृत्वको सरकारले भारतविरोधी भावना फैलाएको आरोप पनि मिश्रले लगाए । मिश्रलाई सोधिएको एक प्रश्नमा उनले भनेका छन्, ‘मुझे लगता है कि यह भारत के भी हित में है । नेपाल के कम्युनिस्ट शासनमें भारत विरोधी भावना बढ़ी है ।’ अर्थात ‘मलाई लाग्छ कि राजतन्त्र फर्कनु भारतको पनि हितमा छ । नेपालको कम्युनिष्ट शासनमा भारतविरोधी भावना बढिरहेको छ ।’
मिश्रले गणतन्त्रप्रति नेपाली जनताको मोह भंग भएको र जनता व्यवस्थाविरुद्ध सडकमा उत्रिएको दाबी गरे । उनले पूर्वराजा ज्ञानेन्द्र जहाँ गए पनि स्वतस्फुर्त रुपमा राजतन्त्र पक्षधरहरुको भिड जम्मा हुने गरेको बताए ।
यदि ज्ञानेन्द्रले नेपालको राजनीतिक कमाण्ड हातमा लिन इच्छुक छन् भने किन निर्वाचनमा भाग लिन चाहँदैनन् भन्ने प्रश्नमा मिश्रले ज्ञानेन्द्रलाई आफूहरुले नेता नभई राजा बनाउन चाहेको जवाफ दिएका छन् ।
चुनावी राजनीतिबाट कोही पनि राजा नबन्ने तर्क उनको छ । उनले पोखरामा ज्ञानेन्द्रका दाजु स्वर्गीय राजा वीेन्द्रको शालीक अनावरण गर्ने कार्यक्रमका सहभागीले राजतन्त्रकालीन पुरानो राष्ट्रियगान गाएको बताए ।
उनले प्रहरीले राजाकालीन राष्ट्रिय गान गाउँदा नरोकेको भन्दै प्रहरी र नेपाली सेना पनि वर्तमान व्यवस्थाविरुद्धमा रहेको जिकिर गरे ।