काठमाडौं । विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बाँस्कोटाले संविधान संशोधन गर्नुभन्दा पहिले राजनीतिक दल र नेताहरूको चरित्र संशोधन गर्नुपर्ने बताएकी छन् ।
नेसपा (नयाँ शक्ति) को प्रथम महाधिवेशन उद्घाटन सत्रमा आइतबार बोल्दै उनले ठूला राजनीतिक दलहरूमा नेतृत्वले कति वर्ष काम गर्न पाउने भन्ने योजना नै नभएको बताएकी हुन् ।
‘हामी अहिले संविधान संशोधन गर्नुपर्यो भन्दैछौं । संविधानभन्दा पहिले नेताको चरित्र संशोधन गर्नुपर्यो। राजनीतिक दल र नेताहरूको चरित्र संशोधन गर्नुपर्यो,’ उनले भनिन्, ‘तपाईंको दलमा एकचोटि आएपछि एक्जिट हुने प्लान नै छैन । तपाई सयौं वर्षसम्म पनि त्यही बसेर सत्ताको हालिमुहाली गर्नुहुन्छ । त्यस्तो चरित्र संशोधन गरौं न । संविधानमा संशोधन त त्यही लेखिएको छ त्यहीँ गएर गर्दा भइहाल्यो नि ।’
उनले साधारण र जनताको समस्या हल गर्ने किसिमको राजनीतिक चरित्र निर्माण गर्नुपर्ने बताइन् ।