काठमाडौँ। गाजामा युद्धविरामपछि सरकारले दीर्घकालीन स्याहार केन्द्रमा सहायक श्रमिक (केयरगिभर)का लागि नेपाली श्रमिकलाई पुनः इजरायल पठाउन सुरु गरेको छ ।
केयरगिभरका लागि पहिलो चरणमा छानिएका ९१९ जनामध्ये १३ जना (२ जना पुरुष, ११ जना महिला) मंगलबार श्रम गन्तव्यका लागि इजरायल उडेको वैदेशिक रोजगार विभाग अनुगमन तथा जीटूजी सहजीकरण शाखाले जनाएको छ ।
शाखाका अनुसार पहिलो चरणमा केयरगिभरका लागि जाने नेपाली श्रमिक ८२ जनाको भिसाको लागेको छ। नेपाल र इजरायलबीच भएको श्रम सम्झौता अनुसार सरकारी संयन्त्रमार्फत दीर्घकालीन स्याहार केन्द्रमा कामदार पठाउन थालेको नेपालस्थित इजरायली दूतावासले जनाएको छ ।
दूतावासका अनुसार दीर्घकालीन स्याहार केन्द्रमा काम गर्ने कामदारहरूको पहिलो समूहलाई आज इजरायल पठाइएको छ। उनीहरूलाई आज नेपालका लागि इजरायली राजदूत खनान गोदेर, वैदेशिक रोजगार विभाग र श्रम मन्त्रालयका प्रतिनिधिहरूले फुल मालासहित बिदाइ गरेका थिए ।
इजरायलको लागि योग्यता पुगेर छानिएका ३ हजार ४६१ जनाको सूचीबाट लक्की ड्रको आधारमा २ हजार ११२ जना छानिएका थिए । तीमध्ये पहिलो ९१९ जनालाई पठाउने प्रक्रिया अगाडि बढाइएको बताएको छ ।
यसका साथै ९१९ मध्ये ८२ जनाको भिसा लागिसकेको छ भने अन्यको प्रक्रियामा रहेको छ । इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा अब बढी नेपाली कामदार १३ सय ४५ जना कार्यरत हुनेछन् ।