>

प्रकृति लम्साल मृत्यु प्रकरण : केआईआईटी विश्वविद्यालयका महानिर्देशकसहित ५ जना पक्राउ

काठमाडौं । भारतको उडिसा प्रहरीले नेपाली विद्यार्थी प्रकृती लम्सालको मृत्यु र विद्यार्थी दुव्र्यवहारमा जिम्मेवार रहेको भन्दै केआईआईटी विश्वविद्यालयका महानिर्देशकसहित ५ जनालाई पक्राउ गरेको छ ।

चौतर्फी विरोध र दबाबपछि माफी मागेपनि उनिहरू घटनामा जिम्मेवार रहेको भन्दै प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा कलेजका मानव स्रोत महानिर्देशक ५९ वर्षीय शिवनन्द मिश्र, कलेजका प्रशासन निर्देशक ५० वर्षीय प्रतापकुमार चमुपती, छात्रावास निर्देशक ५९ वर्षीय सुधीरकुमार राठ छन् ।

यस्तै, सुरक्षा गार्डहरू रमाकान्त नायक र जोगेन्द्र बेहेरा पनि प्रहरी नियन्त्रणमा छन् । पक्राउ लगत्तै उनीहरूलाई अदालतमा पेस गरिएको छ । विश्वविद्यालय र प्राध्यापक मन्जुशा पाण्डेले पनि माफी मागेकी छन् । यसअघि विश्वविद्यालयले विद्यार्थीलाई छात्राबासमा फर्कन आह्वान गरेपनि नेपाली विद्यार्थीहरू त्रासमा छन् ।

प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि भएको दुव्र्यवहारप्रति चौतर्फी विरोधपछि विश्वविद्यालयले माफी मागेको थियो । विश्वविद्यालयले नेपाली विद्यार्थीमाथि हातपात गर्ने दुई सुरक्षागार्डलाई बर्खास्त गर्नुका साथै छात्रावासका तीन अधिकारीलाई निलम्बन गरेको छ ।

यसैबीच भारतको उडिसामा आत्महत्या गरेकी नेपाली विद्यार्थी प्रकृति लम्सालको शव आज नेपाल ल्याइने भएको छ । प्रकृतिको शंकास्पद मृत्यु भएको खबर आएपछि बुबा सुनिल लम्साल ओडिसा पुगेका छन् । उनले मंगलबार प्रहरी अधिकारीहरूसँग भेटेर न्याय पाउनुपर्ने बताएका थिए ।

गत आइतबार अपराह्न २० वर्षीय प्रकृति होस्टलको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । नेपाल स्थित भारतीय दूतावासले घटनाको अनुसन्धान भइरहेको जनाएको छ भने नेपालको परराष्ट्र मन्त्रालयले पनि घटनाबारे अनुसन्धान भएको र दोषीहरूलाई कानूनी कारबाही गर्न भारत तयार रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *