जनकपुर । धनुषाको विदेहनगर नगरपालिकाका मेयर बेचन दास तत्माका छोरा रामभजनले प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्रकुमार साहलाई कार्यकक्षमै कुटेका छन् । मेयरका छोराले आफूलाई सोमबार कार्यकक्षमै कुटपिट गरेको भन्दै प्रशासकीय अधिकृत साहले शान्ति सुरक्षा माग गर्दै स्थानीय प्रशासनमा निवेदन दिएका छन् ।
उनले दोषीमाथि कारबाहीको माग पनि गरेका छन् । शिक्षा सेवा आयोगबाट सिफारिस भएकी शिक्षिका पवन कुमारीलाई विद्यालयमा हाजिर गराएको भन्दै रामभजनले आफूलाई कुटपिट गरेको साहले बताए । एमाले समर्थक नहरेकी शिक्षिका पवनलाई किन हाजिर गराएको भन्दै कुटपिट भएको उनको भनाइ छ ।
मेयर दासले घटनाबारे प्रहरीलाई जानकारी गराए गोली हान्ने धम्की दिएका छन् । प्रशासकीय अधिकृत साहले मेयर दासका बाबुछोरालाई तत्काल पक्राउ गरी कारबाहीको माग गरेका छन् ।
मेयर दासले भने आफूले साहमाथि कुनै धम्की नदिएको दाबी गरे । उल्टै उनले प्रशासकीय अधिकृत साहले जनताको काम नगर्ने र अनावश्यक दुःख दिने गरेको आरोप लगाए ।
एमाले नेता दास ०७९ जेठमा सम्पन्न स्थानीय तह निर्वाचनमा विदेहको मेयरमा विजयी भएका थिए ।