काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाथीभरा केबलकार बनाउने कुरामा स्थानीयहरुको साथ रहेको दाबी गरेका छन् ।
शनिवार पाथीभरा देवी दर्शन केबलकार प्रा.लि.को तर्फबाट काठमाडौंमा पत्रकार सम्मलेन गर्दै ढकालले तीन सय जनासँग गरेको सार्वजनिक सुनुवाईमा स्थानीयको प्रतिनिधित्व गर्दै बोल्ने २५ जनामध्ये दुई जनाले मात्रै असहमति जनाएको बताए ।
अध्यक्ष ढकालले ताप्लेजुङवासीको अधिकांशको मत केबलकार बनाउनुपर्छ भन्नेमै रहेको भन्दै ताप्लेजुङ भन्दा बाहिरका र विदेशमा बस्नेहरुले त्यहाँको विकासको उपयोग गर्ने तर नेपालमा हुन लागेको विकासको बिरोध गरिरहेको दाबी गरे। ताप्लेजुङमा केबलकार बनेसँगै आर्थिक गतिविधि चलायमान हुने, रोजगारी सिर्जना हुनेकुरा महत्वपूर्ण रहेको ढकालको भनाई छ । ताप्लेजुङवासीलाई त्यहीँ रोजगारी दिने उद्देश्यका साथ केबलकार बनाउन लागिएको भन्दै ढकालले केबलकार बनेसँगै ताप्लेजुङको विकास र समृद्धिमा नै सहयोग पुग्ने उल्लेख गरे ।
पाथीभरा देवी केबलकार निर्माण भएसँगै तीन सय रोजगारी थपिने र जसमा ८० प्रतिशत ताप्लेजुङवासीले नै रोजगारीको अवसर पाउने भएकाले ताप्लेजुङवासीले पाउने अवसरमा खेलवाड गर्न बाहिर बस्ने नेपालीहरु लागिरहेको बताए ।
अध्यक्ष ढकालले पाथीभरामा केबलकारसम्बन्धी संरचना गलत हिसावले नबनाइएको पनि स्पष्ट पारेका छन् । अध्यक्ष ढकालले सांस्कृतिक सम्पदाको संरक्षण र जगेर्ना गर्दै पर्यटन प्रवद्र्धनका लागि केबलकार बनाउन बताए ।