काठमाडौं । भिजिट भिसा प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सहमतिका लागि छानबिन समिति बनाउन ५ बुँदे प्रस्ताव पठाएको छ ।
रास्वपाले संसद् अवरोध हटाउन सहमतिका लागि सत्तारुढ दल नेपाली कांग्रेसलाई पाँच बुँदे प्रस्ताव पठाएको हो । संसदमा जेठ १३ गतेदेखि देखिएको गतिरोध अनत्यका लागि रास्वपाले ५ बुँदे प्रस्ताव गरेको हो । रास्वपाले यसअघिका वार्ताका आधारमा सहमतिको खाका तयार गरी कांग्रेसलाई पठाएको हो ।
जसमा भिजिट भिसाको नाममा भएको मानव तस्करी र सांगठनिक अपराधमा सरकारी संयन्त्र, ट्राभल एजेन्सी, म्यानपावर कम्पनी, एयरलाइन्स र नेपाली तथा विदेशी नियोगहरूको संलग्नताका विषयमा बहुआयमिक अनुसन्धान गर्न पाँच दिनभित्र उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने प्रस्ताव गरेको छ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, प्रतिपक्षी दलहरू रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायत दलहरूले पटक संसद अवरोध गर्दै आएका छन्। गृहमन्त्रीको राजीनामाको मागबाट भने माओवादी पछि हटिसकेको छ ।