मकवानपुर । मकवानपुर जिल्लाका विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुले बालविवाह विरुद्धका सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएतापनि कम उमेरमा आमा बन्ने क्रम रोकिएको छैन ।
जनस्वास्थ्य कार्यालय मकवानपुरले बिहीबार गरेको स्वास्थ्य अभिमुखिकरण कार्यक्रममा प्रस्तूत तथ्यांक अनुसार चालू आर्थिक वर्षको १० महिनामा चार सय ५८ जना किशोरी आमा बनेका छन् ।
कार्यालयले दिएको तथ्यांक अनुसार जिल्लाभर चार हजार एक सय २७ जना सुत्केरी भएकोमा ११ दशमलव शून्य ६ प्रतिशत २० वर्षमुनिका रहेका छन् । जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारका अनुसार गत आर्थिक वर्षमा १० दशमलव ९३ प्रतिशत किशोरी आमा बनेको तथ्यांक छ ।
तथ्यांक अनुसार गत आर्थिक वर्ष भन्दा चालू आर्थिक वर्षको दश महिनाको अवधिमा २० वर्ष भन्दा कम उमेरमा आमा बन्नेको संख्यामा वृद्धि भएको देखिएको छ । गत आवमा कुल चार हजार ४ सय ३० सुत्केरी भएका थिए ।
मकवानपुरमा रहेका १० वटा स्थानीय तहमध्ये सबैभन्दा बढी रक्सिराङमा कम उमेरमा आमा बन्नेको संख्या रहेको कार्यालय प्रमु्ख मिजारले बताउनुभयो । यहाँ कुल सुत्केरी भएका मध्य २४ दशमलव ११ प्रतिशत २० वर्ष मुनिका रहेका छन् ।
बागमतीमा २३ दशमलव ०४ प्रतिशत, बकैयामा १७ दशमलव ११ प्रतिशत, भीमफेदीमा १७ दशमलव शून्य ७ प्रतिशत किशोरीहरु आमा बनेका छन् । त्यस्तै, कैलाशमा १५ दशमलव ५६ प्रतिशत थाहा नगरपालिकामा ११ दशमलव ५९ प्रतिशत बीस वर्ष नपुग्दै आमा बनेका छन् ।
मकवानपुरको बालमैत्री घोषण भएका स्थानीय तहमा पनि कम उमेरमा आमा बनेका छन् । मनहरी गाउँपालिकामा १६ दशमलव शून्य ५ प्रतिशत, मकवानपुरगढीमा २३ दशमलव १६ प्रतिशत र हेटौंडा उपमहानगरपालिकाका ८ प्रतिशत २० वर्षमुनिमा आमा बनेका तथ्यांक रहेको छ ।