काठमाडौं । नवराज सुबेदीको नेतृत्वको संयुक्त जनआन्दोलन समितिले आज नयाँ चरणको आन्दोलन घोषणा गर्ने भएको छ ।
समितिको आयोजनामा सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा आन्दोलनको घोषणा गर्ने तयारी छ । घोषणा सभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा र राष्ट्रिय शक्ति नेपालका केशरबहादुर विष्ट पनि उपस्थित हुनेछन् ।
यस्तै नेपाली काङ्ग्रेस बीपीका सुशीलमान शेरचन, शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत लगायत राजावादी हिन्दूवादी संघ, संस्था र अभियानको सहभागिता रहने आयोजकले बताएका छन् । कार्यक्रममा विभिन्न ५० भन्दा बढी संघ संस्थाहरूले अब हुने आन्दोलनमा समर्थन जनाउँदै प्रतिबद्धता जनाउने बताइएको छ ।
गत चैत्र १५ गते तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक भएपछि राजवादीहरु एकै ठाउँमा संगठित भएका छन् ।