काठमाडौं । भारतबाट आजदेखि दैनिक १५ घण्टा बिजुली आयात हुने भएको छ । आजदेखि बिहान ६ देखि साँझ ५ र राति २ देखि बिहान ६ बजेसम्म बिजुली आयात गरिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । भारतले ४ सय केभी ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट दिनहुँ ६ सय मेगावाट बिजुली १५ घण्टा आयात गर्ने अनुमति दिएको हो ।
गत चैत १५ यता प्राधिकरणले बिहान ६ देखि साँझ ५ सम्म र राति ११ देखि बिहान ४ बजेसम्म गरी दिनहुँ १६ घण्टा बिजुली आयात गर्दै आएको थियो । आयातित बिजुली र आन्तरिक उत्पादन बढ्दो क्रममा रहेकाले अब औद्योगिक क्षेत्रमा हुने बिजुली कटौती हुने क्रम घट्दै जाने प्राधिकरणले जनाएको छ ।
भारतबाट टनकपुर–महेन्द्रनगर प्रसारण लाइनबाट ५४ मेगावाट बिजुली आयात भइरहेको छ । गत मंसिरमा हिउँदमा बिजुली आयात गर्ने अनुमति दिँदा भारतले चैत २ सम्म दिनको २० घण्टा थियो । गत चैत ३ देखि बिहान ६ देखि साँझ ६ बजेसम्म मात्रै आयात गर्ने अनुमति थियो ।
भारतको इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड आईईएक्स को डे–अहेड र रियल टाइम बजारमा प्रतिस्पर्धा मार्फत नेपालले बिजुली खरिद गर्दै आएको छ । नेपाल–भारत विद्युत् आदानप्रदान समिति बाट ३५० मेगावाट बिजुली आयात गर्न पाइन्छ ।