युक्रेन र अमेरिकाले बहुप्रतीक्षित खनिज सम्झौतामा हस्ताक्षर गरेका छन् । अमेरिकी अर्थ मन्त्री स्कट बेसेन्ट र युक्रेनी प्रथम उपप्रधानमन्त्री युलिस सेभरीडेन्कोले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार युक्रेनको विकास र पुनरुत्थानमा संयुक्त लगानीका लागि यो वास्तवमै राम्रो, समान र लाभदायक अन्तर्राष्ट्रिय सम्झौता भएको प्रधानमन्त्री डेनिस श्मिगलल बताएका छन् ।
अमेरिकाको अर्थ मन्त्रालयबाट सार्वजनिक विज्ञप्तिमा यस सम्झौताले उनीहरूलाई पारस्परिक सम्पत्ति, प्रतिभा र क्षमताहरू सुनिश्चित गर्न सहयोग गर्ने बताइएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाबाट प्राप्त युद्धकालीन सहायताको लागि ‘योगदान’ का रूपमा यसलाई उल्लेख गर्दै आएका छन् । किभ र वासिङ्टनले सम्झौतामा हस्ताक्षर गर्ने योजना केही हप्ताअघि नै बनाएका थिए तर ह्वाइट हाउसमा ट्रम्प र युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीबीच भएको भनाभनको स्थितिपछि अस्थायी रुपमा वार्ता अवरुद्ध भएको थियो ।
युक्रेनले रुसको तीन वर्षे आक्रमणलाई रोक्नको लागि कुनै पनि सम्झौताको एक भागको रूपमा सुरक्षा ग्यारेन्टीको लागि जोड दिदै आएको छ । युक्रेनमा अमेरिकी व्यापारिक स्वार्थलाई बढावा दिनाले युद्धविरामको स्थितिमा भविष्यमा हुने आक्रमणबाट रुसलाई रोक्न मद्दत पुग्ने अमेरिकाको भनाइ छ ।