काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले ऊर्जामन्त्री दीपक खड्कालाई नचाहिने काममा नलाग्न आग्रह गरेका छन । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङप्रति इंगित गर्दै थापाले अहिले सरकार नै एउटा व्यक्तिको पछि लागेको जस्तो देखिएको बताए ।
आज (शनिबार) सिन्धुलीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले भने, ‘अहिले हामी सुनिरहेका छौँ, ऊर्जा मन्त्रालयको । मन्त्रालय अन्तर्गत विद्युत् प्राधिकरण छ ।
मैले बुझ्न सकेको छैन, बदनियत हो कि ढंग नपुगेको हो । तीन–चार महिनामा सेवा निवृत्त हुने एउटा व्यक्तिको पछि सरकार नै लागेको देखिन्छ । यस्ता कुरा ठिक होइन । यस्तो, नचाहिने काममा कोही पनि मन्त्रीहरू लाग्नु हुँदैन । सेवा निवृत्त भएपछि उपयुक्त मान्छे ल्याउने, त्यो संस्थाको नेतृत्व गर्न दिने हो ।’
थापाले मन्त्रीहरू नचाहिने काममा लागे भने त्यसलाई रोक्ने काम प्रधानमन्त्रीको भएको पनि स्पष्ट पारे । प्रधानमन्त्री भनेको सरकार र क्याबिनेटको मास्टर भएको उनको भनाई थियो ।