काठमाडौं । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले पशुपतिनाथ क्षेत्र र त्यस वरपरका क्षेत्रमा मासु, मदिरा र नसालु पदार्थ सेवन तथा बिक्री वितरण निषेध गरेको छ ।
महाशिवरात्रि पर्व, २०८१ लाई अनुशासित, मर्यादित तथा व्यवस्थित बनाउन भन्दै काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले मासु, मदिरा तथा नसालु पदार्थहरू उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न नपाउने निषेध गरिएको सूचना जारी गरेका हुन् । सूचनाको उल्लंघन गरेमा कानुनी कारबाही गर्ने चेतावनी तिवारीले दिएका छन् ।
आजदेखि बिहीवारसम्म ४ दिन यस्ता पदार्थ पशुपति क्षेत्रमा निषेध गरिएको हो । गौशाला–मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर, मित्रपार्क, उमाकुण्ड, गौरीघाट हुँदै गुह्येश्वरीदेखि दक्षिणभित्रका क्षेत्रमा मासु, मदिरा र नसालु पदार्थको कारोबार गर्न नपाइने सूचनामा उल्लेख छ ।