हमासले भोलि बिहीबार दुई बालकसहित चार बन्धकहरूको शव हस्तान्तरण गर्ने जनाएको छ । हस्तान्तरण गरिने शवहरूमा बिबास परिवारका सदस्यहरू- शिरी र उनका साना छोराछोरी नौ महिनाका कफिर र चार वर्षका एरियल पनि समावेश हुनेछन् ।
उनीहरुलाई हमास समूहले ७ अक्टोबर २०२३ मा अपहरण गरेको थियो । तिनीहरू इजरायली बमबारीमा मारिएको हमासले आरोप लगाएको छ । यस बारेमा इजरायलले भने केही पुष्टि गरेको छैन । बालबालिकाका बाबु यार्डेनलाई हमासले यस महिनाको सुरुमा रिहा गरेको थियो ।
हमास समूहका वार्ताकार खालिल अल-हय्याले आउँदो शनिबार थप छ जना जिवितै बन्धकहरू रिहा गर्ने बताएका छन् । यसको बदलामा, इजरायलले गत अक्टोबरपछि पक्राउ परेका सबै महिलाहरू र १९ वर्षभन्दा कम उमेरका व्यक्तिहरूलाई रिहा गर्नेछ । यसका साथै इजरायलले गाजामा केही भग्नावशेष हटाउने उपकरणहरू पनि पठाउन अनुमति दिने बताइएको छ ।
हमासले नोभेम्बर २०२३ मा इजरायली हवाई आक्रमणमा उनीहरू मारिएको दाबी गरेको थियो, तर कुनै प्रमाण प्रस्तुत गरेको थिएन । इजरायली सेनाले पनि यसबारे कुनै पुष्टि गरेको छैन । एक इजरायली अधिकारीका अनुसार मृत बन्धकहरूको पहिचान इजरायलमा पुष्टि गरेपछि मात्र तिनीहरूको नाम सार्वजनिक गरिनेछ ।
हमासले शनिबार रिहा गरिने छ जना इजरायलीहरू मध्ये दुई जनाको नाम घोषणा गरेको छ । उनीहरू एभेरा माङ्गिस्तु र हिशाम अल-सैयद हुन्, जसलाई २०१४ र २०१५ मा गाजामा छिरेपछि पक्राउ गरिएको थियो ।
युद्धविराम सम्झौताको पहिलो चरण अन्तर्गत, हमासले ३३ जना बन्धकहरूलाई रिहा गर्न सहमति जनाएको थियो । यसको बदलामा, इजरायलले करिब १,९०० जना प्यालेष्टिनी बन्दीहरूलाई रिहा गर्ने सहमति गरेको थियो ।
हाल ७३ जना बन्धकहरू गाजामा छन्– जसमा इजरायली सैनिकहरू, सर्वसाधारण (जीवित र मृत दुवै), साथै थाई र नेपाली नागरिक पनि छन् ।
७ अक्टोबर २०२३ मा हमासले इजरायलमा आक्रमण गर्दा करिब १,२०० जनालाई हत्या गरेको थियो र २५१ जनालाई बन्धक बनाएको थियो । इजरायलले यसको जवाफमा १५ महिनासम्म सैन्य आक्रमण चलाएको थियो, जसमा गाजाको हमास-नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार ४७,४६० जना फिलिस्तिनी मारिएका छन् ।
हमासले आउँदो शनिबार थप ६ जना इजरायली बन्धकलाई रिहा गर्दै
यसैबीच प्यालेस्टिनी विद्रोही समूह हमासले थप ६ जना इजरायली बन्धकलाई रिहा गर्ने भएको छ । उत्तरी गाजामा मानिसहरूलाई फर्कन इजरायलले अनुमति दिने बदलामा थप बन्धकहरूलाई यो हप्ता रिहा गर्न लागेको हो ।
इजरायल र हमासले शनिबार जारी युद्धविराम सम्झौताको पहिलो चरणमा गाजामा बन्दी रहेका बाँकी छ जना बन्धकहरूलाई रिहा गर्ने सहमति गरेको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले जनाएको छ ।
इजिप्टको राजधानी कायरोमा भएको वार्तापछि नयाँ समझदारीमा पुगेको कार्यालयले एक विज्ञप्तिमा जनाएको छ । गाजा युद्धविराम सम्झौता कार्यान्वयन भएदेखि, हमासले बन्धकहरूलाई रिहा गरेको छ । इजरायलले बदलामा २०० प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ ।