काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले इस्लामिक गणतन्त्र इरानका विदेशमन्त्री सय्यद अब्बास अराघ्चीसँग टेलिफोन वार्ता गरेकी छन् ।
हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै मन्त्री आरजुले गएराति इरानी विदेशमन्त्री अराघ्चीसँग कुराकानी गरेकी हुन् ।
फोनवार्ताका क्रममा इरानका विदेशमन्त्री अराघ्चीले हमासका अधिकारीहरूसँग अब हुने बैठकमा आफूले विपिन रिहाइको मुद्दा प्राथमिकताका साथ उठाउने आश्वासन दिएको परराष्ट्र मन्त्री राणाको सचिवालयले जनाएको छ ।
इजरायल र हमासबीच युद्धविराम भएपछि आफ्ना नियन्त्रणमा रहेका बन्दीहरूलाई हमासले मुक्त गर्न थालेको छ ।
हमासको नियन्त्रणबाट विपिनलाई मुक्त गर्न नेपाल सरकारले कूटनीतिक पहललाई जारी राखेको छ । यसक्रममा मन्त्री डा राणाले अघिल्लो हप्तामात्र इजिप्टका विदेशमन्त्रीसँग पनि फोनवार्ता गरी पहलका लागि आग्रह गरेकी थिइन् ।
इजरायल र हमासबीच युद्धविरामको कुराकानी भएदेखि नै मन्त्री आरजुले हमाससँगको शान्ति वार्ताका लागि मध्यस्थता गरिरहेका कतार र इजिप्टसँग विपिन रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गर्दै आइरहेकी छिन् । केही हप्ताअघि मन्त्री डा.राणाले इजरायलका विदेशमन्त्रीसँग फोनवार्ता गरेकी थिइन् ।
इजरायलका लागि नेपाली राजदूत प्राध्यापक डा. धनप्रसाद पण्डितले पनि केही दिन अघि इजरायलका राष्ट्रपतिसँग फोनमा जोशीको रिहाइको पहल गर्न आग्रह गरेका थिए।
जोशीको रिहाइका लागि सरकारले गत वर्षदेखि नै कूटनीतिक प्रयास जारी राखेको छ । मन्त्री डा.देउवाले संयुक्त राष्ट्रसङ्घ, अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मञ्चहरू र बैठकमार्फत जोशीको रिहाइका लागि कूटनीतिक प्रयास गरिरहेकी छन् ।