काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको महाधिवेशनको तिथि मितिबारे नेताकार्यकर्तालाई कुनै भ्रममा नपर्न आग्रह गरेका छन्।
शनिबार कांग्रेसको काठमाडौं महानगरपालिका–७ को वडा सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले महाधिवेशन २०८४ अघि नै हुने स्पष्ट पारे।
नेताकार्यकर्तालाई भ्रममा नपर्न आग्रह गर्दै थापाले भने, ‘संविधानमै कुनै पनि पार्टीको एउटा अधिवेशन र अर्को अधिवेशनको समय पाँच वर्षको व्यवस्था गरिएको छ। त्यसैले २०८४ को स्थानीय चुनाव र आम चुनावभन्दा अगाडि नै पार्टीको महाधिवेशन गरिनु अपरिहार्य छ।’
थापाले महाधिवेशन २०८४ अघि नै हुने ठोकुवा गर्दै भने, ‘महाधिवेशन त्यसअघि नै गर्नै पर्छ। अधिवेशनबाट आएको नयाँ नेतृत्वले नै चुनावमा पार्टीको नेतृत्व गर्नेछ।’
उनका अनुसार महाधिवेशन त्यसअघि कति छिटो गर्न सकिन्छ भन्ने विषयमा आवश्यक छलफल भइरहेको छ। पछिल्लो समय कांग्रेसभित्र महाधिवेशन ०८४ को निर्वाचनपछि गर्ने कि अगाडि गर्ने भन्ने विषयमा नेताहरूबीच बहस चलिरहेको छ। विशेष गरी पूर्व महामन्त्री डा. शशांक कोइराला ०८४ को निर्वाचनपछि महाधिवेशन गर्नुपर्ने पक्षमा स्पष्ट रूपमा अडिग छन्।