>

राजीनामा दिने मनस्थितिमा थिए गृहमन्त्री लेखक, ओली र देउवाले रोके

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमार्फत भिजिट भिषाको आवरणमा भइरहेको भनिएको संगठित मानव तस्करी प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकलाई काँग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी ओलीले रोकेका छन् ।

भिजिट भिसामा विदेश जाने युवाहरुबाट दैनिक कम्तिमा ५० लाख रुपैयाँ ‘सेन्टेरल कलेक्सन’ हुने गरेको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सह–सचिव एवं प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईलाई पक्राउ गरेपछि गृहमन्त्री स्वयं विवादमा तानिएका छन् । मन्त्री लेखकले गत असोजमा उनलाई प्रमुख अध्यागमन अधिकृतको जिम्मेवारी दिएका थिए ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

स्रोतका अनुसार आफ्नै सचिवालयका केही जिम्मेवार व्यक्तिहरुको समेत उक्त प्रकरणमा संलग्नता देखिएपछि मन्त्री लेखकले गम्भीर आत्ममूल्यांकन गरेका छन् । सोही कारण उनले नैतिकताका आधारमा राजीनामा दिने र छानबिनमा सघाउने मनस्थिति बनाएका थिए ।

सामाजिक सञ्जालदेखि संसद् र सडकसम्म नैतिकताको बहस चर्किँदा कांग्रेसका वरिष्ठ नेता शेखर कोइराला, सुनिल शर्मा, राजेन्द्र बजगाईं लगायत सांसदहरुले लेखकको राजीनामा माग गरेका छन् । गृहमन्त्रीको राजीनामा मागेर विपक्षी दलहरुले मंगलबारको प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका छन् । प्रमुख विपक्षी माओवादी केन्द्र, रास्वपा, राप्रपा, एकीकृत समाजवादीसहित विपक्षी दलहरुले लेखकको राजीनामा नआएसम्म संसद चल्न नदिने चेतावनी दिएका छन् ।

Photo of the Remarkables mountain range in Queenstown, New Zealand.

आजका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक पनि अवरुद्ध गर्ने तयारीमा विपक्षी छन् । उनीहरुले संसदमा लेखकलाई बोल्न दिएका छैनन् । विमानस्थलको अध्यागमनमा देखिएको अव्यवस्था र यससँग जोडिएको मानव तस्करी प्रकरणको निष्पक्ष छानबिनको माग थप चर्कँदै गएपछि राजीनामा दिने मनस्थितिमा पुगेका लेखक सत्तारुढ कांग्रेस र एमाले शीर्ष नेतृत्वको आग्रहमा पछि हटेका छन् । लेखकको दल काँग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीले लेखकको राजीनामा रोकेका हुन् ।

सोमबार देउवानिवास बुढानीलकण्ठमा कांग्रेस पदाधिकारी र ललितपुरको च्यासलस्थित मुख्यालयमा एमाले सचिवालय बैठक बसेको थियो । ती दुवै बैठकको साझा निस्कर्ष थियो, ‘कर्मचारीले गल्ती गर्दैमा मन्त्रीले राजीनामा दिनुपर्र्दैन ।’ गृहमन्त्री लेखक पनि सुरुमा आफू पदमा कायमै रहने अडानमा थिए ।

तर,पछिल्लो दबाब र घटनाक्रमले गर्दा सोमबारसम्म राजीनामाको मनस्थितिमा पुगेका थिए । तार्किक, शालिन र तुलनात्मक रुपमा कम विवादित छविका लेखकलाई धेरै शुभेच्छुकले राजीनामा दिएर नैतिकता प्रदर्शन गर्न र बाँकी राजनीति जोगाउन सुझाव दिएका छन् । तर देउवा र ओलीले ‘राजनीतिक सन्देश गलत जाने’ भन्दै उनलाई राजीनामा नदिन आग्रह गरेका छन् । ‘रमेश दाई राजीनामाको मनस्थितिमा पुगिसक्नुभएको थियो । तर, पार्टी सभापति र प्रधानमन्त्री केपी ओलीले रोकेपछि उहाँ तत्कालका लागि पछि हट्नुभएको छ’, उनका एक निकट सहयोगीले भने । यही विषय थप चर्किंदै गए लेखकको राजीनामा आउन पनि सक्ने उनको भनाइ थियो ।

3 thoughts on “राजीनामा दिने मनस्थितिमा थिए गृहमन्त्री लेखक, ओली र देउवाले रोके

Leave a Reply

Your email address will not be published. Required fields are marked *