पाल्पा । पाल्पाको रामपुरस्थित शहीद बहुमुखी क्याम्पसमा स्ववियू निर्वाचनको मतगणनाका क्रममा प्रहरीले तीन राउन्ड गोली चलाएको छ ।
मतगणनाको क्रममा प्रहरीले विद्यार्थीको भिडलाई तितिर वितर बनाउन गोली नै चलाएको इलाका प्रहरी कार्यालयले जनाएको छ । गोली प्रहार भएपछि भाग्ने क्रममा विभिन्न विद्यार्थी संगठनका १२ जना भन्दा बढी घाइते भएका छन् । घाइतेको अहिले रामपुर अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले गोलीसँगै विद्यार्थीहरुलाई लाठी चार्च समेत गरेको थियो । मतगणनाको क्रममा सदर र बदर मत बारे विवाद सिर्जना भएपछि मतगणनाको लागि प्रतिनिधिले मतदान स्थल छोडेपछि विवाद सिर्जना भएको थियो । विवाद आएपछि शहीद बहुमुखी क्याम्पसमा जारी मतगणना हाललाई स्थिगित गरिएको छ ।
यस्तै, शान्ति क्षेत्र घोषित शैक्षिक संस्थाको हाता भित्र प्रहरीले गोली चलाएको भन्दै नेपाल विद्यार्थी संघ शहीद बहुमुखि क्याम्पस इकाईले जनाएको छ । सामान्य विवादलाई समाधन नगरि गोली र लाठी चार्ज नै गर्नु विवादलाई उग्ररुप बनाएको भन्दै गोली चलाउन आदेश दिने इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक राम बहादुर नेपालीलाई कारबाहीको माग गरेको छ ।
घटनामा संलग्नलाई प्रहरी निरिक्षक माथि छानविन समिति गठन गरि घटनाको सत्य तथ्य छानविन गरि कारबाहीको माग गरिएको नेपाल विद्यार्थी संघ शहीद बहुमुखि क्याम्पस इकाई सभापति आकास भट्टराईले बताए ।